
लुदस,जितपुर ।राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति कपिलवस्तुले जिल्ला स्तरीय खुल्ला सोरठी गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गर्ने भएको छ । सोरठी मौलिक संस्कार संस्कृति मात्र नभइ हाम्रो पहिचान पनि हो । लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको सङ्गीत र लयको बारेमा पछिल्लो पुस्ताले सिक्न आवश्यक रहेकाले यो कार्यक्रम गर्न लागिएको हो । साथै मौलिक सस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्धेश्यले लोप हुदै गएको सोरठी गीत तथा नृत्य प्रतियोगीता गर्न लागेको आयोजक संस्थाले जनाएको छ ।
राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति कपिलवस्तुको तेस्रो अधिवेशन पछि नवगठित कार्य समितिको पहिलो बैठकले मंसिर ७ गते एकादशीको दिन बाणगंगा–६ लक्ष्मणघाट बोलवमधामको परिसरमा जिल्ला स्तरीय खुल्ला सोरठी गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष विमल गैरेले जानकारी गराउनुभयो । बैठकले कार्यक्रम सम्पन्न गर्न विभिन्न उप–समिति समेत गठन गरेको छ । गैरेले संंस्कृति संरक्षण, कलाकर्मीको उत्थानका लागि यो कार्यक्रम गर्न लागिएको बताउनु भएको छ ।
कलाकर्मीहरुको साझा संस्था राष्ट्रिय संगीतकर्मी संघ,कपिलवस्तुले सोरठी गीत र नृत्यको संरक्षण र प्रर्वद्धन गर्नुका सार्थ लोक संस्कृतीलाई पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेको राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय सचिव थानेश्वर अधिकारीले बताउनु भएको छ । कार्यक्रमले युवा पुस्तामा कला संस्कृती प्रती आकर्षण बढाउने उहाँको भनाइ छ । गीत संगीतका नाममा खोलिएका संस्थाले संस्कृतिको पनि संरक्षण गर्नु पर्ने राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्णचन्द्र परियारले बताउनु भएको छ ।
कार्यक्रमका लक्ष्मणघाट सामाजिक विकास केन्द्र,राष्ट्रिय संगीतकर्मी संघ,लुम्बिनी प्रदेश,लक्ष्मणघाट बोलबमधाम विकास समिति सह आयोजकका रुपमा रहेको सचिव बबिता गिरीले बताउनु भयो ।

