पुष्पा सापकोटा,भगलापुर ।
— सङ्घर्षसँग हार नमान्ने एउटा जीवनगाथा
जीवन कुनै फूलको ओछ्यान होइन,
जहाँ हरेक बिहान सुगन्ध मात्रै भेटिन्छ।
कहिले काँडाले बाटो छेक्छ,
कहिले आफ्नै छायाले साथ छोड्छ,
तर म त्यो यात्री हुँ, जो आँधीसँग डराउँदैन, जो अँध्यारोसँग हार मान्दैन।
मेरा पाइला थाक्न सक्छन्, तर यात्रा रोकिने छैन।
मेरो शरीर लड्न सक्छ, तर आत्मविश्वास झुक्ने छैन।
समयले हजार चोट दिए पनि, भाग्यले साथ छोडे पनि,
मेरो सपना मर्न दिने छैन, किनकि मेरो नाम नै सङ्घर्ष हो,
मेरो परिचय नै नझुक्ने जीवन हो।
कहिलेकाहीँ आफ्नै मान्छे पराइ बन्छन्,
विश्वासका महलहरू एकैछिनमा ढल्छन्।
हाँसोभित्र पीडाका नदी बग्छन्, मौनताभित्र हजारौँ आवाज दबिन्छन्।
तर के भयो र बाटो कठिन भयो भने?
के भयो र समय प्रतिकूल भयो भने? म त आँधीमा पनि दियो बाल्ने मान्छे,
अँध्यारोमा पनि उज्यालो खोज्ने मान्छे।
मलाई हारको डर छैन, मलाई अपमानको पीर छैन।
किनकि हारले नै जितको अर्थ सिकाउँछ, पीडाले नै जीवनको गहिराइ बुझाउँछ।
लडेर उठ्नु नै मेरो पहिचान हो, आफ्नै पसिनाले लेख्नु मेरो अभियान हो।
मलाई रोक्नेहरूलाई समयले जवाफ दिनेछ, मलाई हेप्नेहरूलाई कर्मले चिनाउनेछ।
म शब्दले होइन, कामले बोल्नेछु, आँसु लुकाएर पनि मुस्कुराउँदै हिँड्नेछु।
न कसैको घमण्डमा झुक्नेछु, न कसैको स्वार्थमा बिक्नेछु,
आत्मसम्मानको शिर उचो राखेर आफ्नै बाटोमा अघि बढ्नेछु।
मलाई थाहा छ, शिखर चुम्न सजिलो हुँदैन, इतिहास रच्न समय लाग्छ।
तर नदीले ढुङ्गा फोर्न सक्छ भने, मान्छेले आफ्नो भाग्य किन बदल्न सक्दैन?
एउटा सानो आशाले संसार जित्न सक्छ भने, एउटा दृढ सङ्कल्पले जीवन किन बदल्न सक्दैन?
त्यसैले म हिँडिरहनेछु, लक्ष्य भेटिएसम्म बढिरहनेछु।
नथाक्ने पाइला लिएर, नझुक्ने शिर बोकेर, आत्मसम्मानलाई मुटुमा सजाएर, सपना र सङ्कल्पलाई साथी बनाएर।
किनकि म हार्न जन्मिएको होइन, म डराएर रोकिने मान्छे होइन।
मेरो यात्रा अझै बाँकी छ, मेरो गन्तव्य अझै टाढा छ।
जिन्दगीले जति नै परीक्षा लिए पनि, म मुस्कुराएर उत्तर दिनेछु।
मेरा पाइला नथाक्नेछन्, मेरो साहस नझुक्नेछ, जब सम्म सास चलिरहन्छ, मेरो सङ्घर्ष चलिरहनेछ!




















