क्यान्सरको उपचार हुने भन्दै भारतको राजधानी दिल्लीमा बिक्री भइरहेको नक्कली औषधिको प्रकरणमा काठमाडौंको संलग्नता फेला परेको छ। भारतीय क्राइम ब्राञ्चको अनुसन्धानले नक्कली औषधिहरू नेपाल हुँदै भारत प्रवेश गरेको पुष्टि गरेको भारतीय मिडिया द इन्डियन एक्सप्रेस ले जनाएको छ।
दिल्ली प्रहरीले जुनको सुरुमा चाँदनी चौक, लक्ष्मीनगर र बुढ विहारमा एकसाथ छापा मारी ६ जनालाई पक्राउ गरेपछि सो गिरोहको अनुसन्धान अघि बढेको हो। ती औषधिहरू अनधिकृत रूपमा दर्ता नगरिएका र पूर्ण रूपमा नक्कली रहेको पुष्टि गरिएको छ।
नेपाल हुँदै भारत पुर्याइएको प्रमाण
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार नक्कली औषधिहरूको ठूलो परिमाण काठमाडौंबाट भारत भित्रिएको देखिएको छ। भारत लैजान संलग्न व्यक्तिको पहिचान भइसकेको र खोजी कार्य तीव्र पारिएको भारतीय प्रहरीले जनाएको छ। तर, नेपाली प्रहरी निकाय भने यसबारे अनविज्ञ रहेको बताइएको छ।
फरार छन् मुख्य अभियुक्त नवीन आर्य
यस प्रकरणका मुख्य अभियुक्त नवीन आर्य हाल फरार छन्। उनले चाँदनी चौकस्थित भागिरथ प्यालेसमा ‘क्यान्सर एण्ड हेपटाइटिस ट्रीटमेन्ट सेन्टर’ सञ्चालन गर्दै आएका थिए। यसअघि पनि उस्तै मुद्दामा जेल परेका आर्यले रिहा भएसँगै पुनः धन्दा सुरु गरेको र यसपटक नेपाल हुँदै औषधि भित्र्याएको अनुसन्धानबाट खुलेको छ।
नगद कारोबार र डिजिटल प्रमाणको अभाव
प्रहरीका अनुसार, गिरोहले अनलाइन अर्डर लिने, सामाजिक सञ्जालमार्फत प्रचार गर्ने र सम्पूर्ण कारोबार नगदमा गर्ने गरेको हुँदा आर्थिक ट्रेल ट्र्याक गर्न कठिन भइरहेको छ।
नवीन आर्यकी पत्नीसमेत संलग्न रहेको शंका गरिएको छ, किनकि बिरामीसँग सम्पर्कका लागि प्रयोग भएका मोबाइलहरू उनीसँग दर्ता रहेका थिए।
विस्तृत अनुसन्धान जारी
क्राइम ब्राञ्चका डीसीपी विक्रम सिंहको नेतृत्वमा अनुसन्धान टोलीले औषधि परीक्षण फरेन्सिक प्रयोगशालामा गराइसकेको र विस्तृत रिपोर्ट प्रतिक्षामा रहेको जनाएको छ। अन्य राज्यका यस्तै घटनासँग सम्बन्ध जुराउन सक्ने सम्भावना भएकाले पुराना फाइलहरू पनि खोतलिँदै छन्।






















