नेपाल–भारत सीमा नजिकै रहेको भारतीय भूभागको बलरामपुरस्थित बेलभरिया जङ्गलमा उर्मिलालाई बाघले झम्टेको थियो। उनीसँगै अन्य छिमेकी महिला पनि घाँस काट्न गएका थिए। अचानक झाडीबाट निस्किएको बाघले उर्मिलालाई निसाना बनायो। आक्रमण गरेर घिसार्दै केही पर पुर्याएको प्रत्यक्षदर्शीले बताएका छन्।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश आचार्यका अनुसार बाघको आक्रमणबाट उर्मिलाको घटनास्थलमै मृत्यु भएको हो। ‘मृतकको घाँटी र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ’, आचार्यले भने। हाल उनको शवलाई पोस्टमार्टमका लागि भारतको बलरामपुर अस्पतालमा राखिएको छ।
मृतक उर्मिलाको पारिवारिक अवस्था निकै नाजुक रहेको स्थानीयले बताएका छन्। विपन्न दलित समुदायकी उर्मिलाको परिवार पूर्ण रूपमा कृषि र ज्यालामजदुरीमा आश्रित छ। घरको गर्जो टार्न र गाईवस्तुका लागि घाँस जुटाउन उनी दैनिक जङ्गल जाने गर्थिन्। उनी आफ्ना साना छोराछोरी र श्रीमानलाई घरमा छाडेर जङ्गल गएकी थिइन्।
नेपाल र भारतको सिमानामा पर्ने बेलभरिया जङ्गल क्षेत्रमा पछिल्लो समय हिंसक वन्यजन्तुको चहलपहल बढेको छ। कपिलवस्तुका सीमावर्ती गाउँका बासिन्दा इन्धन र घाँसका लागि भारतीय जङ्गलमा निर्भर हुनुपर्ने बाध्यताले यस्ता घटनाहरू दोहोरिने गरेका छन्।
बाघको आक्रमणपछि डिभिजन वन कार्यालय गौतमबुद्धले एक सूचना जारी गर्दै स्थानीयलाई सचेत रहन आग्रह गरेको छ। वन कार्यालयले जङ्गलमा अनावश्यक रूपमा नपस्न, एक्लै नहिँड्न र जङ्गल नजिकका बस्तीहरूमा विशेष सावधानी अपनाउन अपिल गरेको छ।
अमौली गाउँका स्थानीयहरू भने त्रसित छन्। पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले सरकारको ध्यानाकर्षण समेत गराएका छन्।


















