सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले नयाँ नेतृत्व चयन गर्दै आफ्नो सांगठनिक संरचनालाई थप सुदृढ बनाएको छ। मंगलबार संस्थाको सभाहलमा सम्पन्न निर्वाचित घोषणा कार्यक्रममा लक्ष्मण प्रसाद बेल्बासे पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो।
बेल्बासेको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा उपाध्यक्षमा कुलराज पौडेल, सचिवमा शंकर पाण्डे र कोषाध्यक्षमा मनु पाण्डे निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा बसन्त खनाल, चेतनारायण ढकाल, लक्ष्मण अधिकारी, गंगा कुमारी क्षेत्री र शर्मिला गिरी चयन हुनुभएको छ।
नयाँ नेतृत्व घोषणा कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सिनर्जी बहुउद्देश्यीय सहकारी नगरस्तरमै उदाहरणीय सहकारीको रूपमा स्थापित भएको बताउनुभयो। नगरभित्र सञ्चालित सहकारीहरूको नियमित अनुगमन, लेखापरीक्षण तथा अद्यावधिक कार्य नगरपालिकाले गरिरहेको उल्लेख गर्दै उहाँले कुनै पनि सहकारी जोखिममा नरहेको स्पष्ट पार्नुभयो। नगरप्रमुख अर्यालले बचतकर्ताहरूलाई निर्धक्क भएर सहकारीमा बचत गर्न आग्रह गर्नुभयो।
नगरप्रमुख अर्यालले सिनर्जी सहकारी नगरकै जेठो सहकारी भएको उल्लेख गर्दै यसले प्रत्यक्ष रूपमा ४२ जनालाई रोजगारी प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो। दक्ष जनशक्ति तथा विज्ञ उत्पादन गर्न सफल भएको यस सहकारीले समग्र सहकारी अभियानलाई मजबुत बनाएको उहाँको भनाइ छ।
नवनिर्वाचित अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले सिनर्जी सहकारीलाई सबैको साझा घरको रूपमा व्याख्या गर्दै यसलाई अझै उचाइमा पुर्याउन सदस्य, कर्मचारी र सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले पारदर्शिता, अनुशासन र सदस्य हितलाई प्राथमिकतामा राख्दै सहकारी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहकारीका सल्लाहकार गुणानिधि भुसालले पछिल्लो समय केही सहकारीहरू ठगी र पलायनका कारण बदनाम भइरहेका बेला सिनर्जी सहकारी भने भरोसायोग्य र विशाल सहकारीको रूपमा स्थापित भएको उल्लेख गर्नुभयो।
कार्यक्रमको सहजीकरण सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व सचिव कृष्ण प्रसाद न्यापानेले गर्नुभएको थियो। कार्यक्रममा सेयर सदस्य, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।





















