लुदस, जीतपुर
मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुको वेवास्ताका कारण कपिलवस्तुका स्थानीय तहका जनप्रतिनिधीहरु निरन्तर रुपमा आफ्ना दलका उम्मेदवारहरुका चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् ।
जिल्लाका अघिकांश स्थानीय तहका जनप्रतिनिधीहरु आफ्ना दलका चुनावी प्रचार प्रसारको काममा व्यस्त हँदा पनि निर्वाचन अधिकृतको कार्यालयले भने यसमा खासै चासो दिएको छैन । दलहरुको चुनावी अभियान सुरु भए लगतै देखि आचार संहिता विपरित चुनावी दौडाहामा आफ्नै पालिका र वडाहरुमा जनप्रतिनिधीहरु लागिपरेका छन् ।
अझै कपिलवस्तुका जनप्रतिनिधीहरुले चुनावी प्रचारमा लाग्नेमात्र नभइकन आफ्ना क्षेत्रका दलका चुनावी कार्यक्रम राख्ने, आफै अतिथी हुने, भाषण समेत गर्ने र आफ्ना दलका उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छन् । त्यसैगरी जिल्लाका शिक्षकहरु पनि आफ्ना दलहरुको चुनावी प्रचारको काममा घुमाउरो तरिकाले लागिरहेका छन् ।
चुनावी अभियान सुरु भएदेखिनै जिल्ला समन्वय समिति का पदाधिकारीहरु प्रदेश सांसद पालिकाका मेयर उपमेयर वडाध्यक्ष देखि सदस्य सम्मका जनप्रतिनिधीहरु आफ्ना दलका उम्मेदवारलाई जिताउन भन्दै चुनावी अभियानमा लागेका छन् । जसका कारण स्थानीय तहका कामकाज महिनौदेखि प्रभावित भैरहेका छन् ।




















