हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विश्राम प्रसाद चौधरीले यस क्षेत्रका जनताको आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ निर्वाचनमा उम्मेद्वारी रहेको बताउनुभएको छ । बाणगंगा नगरपालिका वडा नं. २ को विस्तारित बैठक तथा निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेद्वार चौधरीले जनताका आवश्यकता सहज रुपमा परिपुर्ती गर्ने खालको नीति बनाउँनका लागि सदनमा कुरा उठाउने आफ्नो उद्देश्य रहेको बताउनुभएको हो । प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार चौधरीले एमाले सत्तामा रहदा जति देशको विकास निर्माण अन्य कुनै दलले नगरेकाले जनताले एमालेको सरकार नै चाहेको बताउनुभयो । उहाँले जनताको मुख जित्ने गरि आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सुर्य चिन्हमा मतदान गरि जिताउनका लागि अनुरोध गर्नुभयो ।

त्यस्तै पार्टीका केन्द्रिय सदस्य बलराम अधिकारीले एमालेले सुकुम्वासी समस्या समाधानका लागि प्रक्रिया सुरु गरि काम समेत गरेको अवस्थामा सत्ता छाड्न परेका कारण अझै काम बाँकी रहेकाले सो काम सम्पन्न गरि नेपाली जनतालाई जग्गाधनी बनाउँनका लागि पनि एमालेले जित्न आवश्यक रहेको बताउनुभयो ।

एमाले बाणगंगा वडा नं. २ का ईन्चार्ज मुक्त बहादुर कार्कीले विभिन्न उप समितिको नामावाली सार्वजनिक गर्दै वडाबाट सुर्य चिन्हमा अधिकतम मत आउने बताउनुभयो ।
बैठकमा पार्टीका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपाने, पुर्व लेखा आयोग उपाध्यक्ष बिष्णु पन्थी, नगर ईन्चार्ज चक्रपाणि अर्याल, जिल्ला लेखा आयोगका अध्यक्ष गंगा बहादुर जिसी लगायतको अन्य नेता तथा कार्यकर्ताको उपस्थिती रहेको विस्तारित बैठक नगर कमिटी उप सचिव जगतराज रेग्मीको स्वागत तथा नगर कमिटी सचिवालय सदस्य नहकुल शाहिको सञ्चालनमा सम्पन्न भएको हो ।



















