लुदअ बैशाख १२, चितवन
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदीले मनोनयन दर्ता गराउनुभएको छ । आज सोमवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो ।
सुवेदीको प्रस्तावकमा देवी ज्ञवाली र समर्थकमा कृष्णभक्त पोखरेल रहनुभएको छ । एमाले र राप्रपाबीच चुनावी तालमेल भएअनुसार भरतपुर महानगरको उपमेयरमा राप्रपाका उम्मेदवारले मनोनयन गर्नेछन् । राप्रपाले उपमेयरको उम्मेदवार छान्न अन्तिम तयारीमा जुटेको छ ।
उम्मेदवारी दर्ताअघि सुवेदीले मदन–आश्रित र वीपी कोइरालाको शालिकमा माल्यार्पण पनि गर्नुभयो । उहाँले भरतपुर पार्टी कार्यालयमा रहेको मदन भण्डारी, जीवराज आश्रित र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको वीपीको शालिकमा माल्यार्पण गर्नुभएको हो । कांग्रेसका संस्थापक नेता कोइरालाको शालिकमा माल्यार्पण गरेर सुवेदीले कांग्रेसका मतदाताको ध्यान तान्नु भएको छ । उहाँले भरतपुरमा कांग्रेसका मतदातालाई आकर्षित गर्न घरदैलो अभियानलाई पनि तीव्रता दिनुभएको छ ।
सुवेदीले पार्टी कार्यालयमै २०६२र०६३ को जनआन्दोलनमा चितवनमा शहीद हुनुभएकी तुलसी क्षेत्रीका छोरालाई सम्मान गर्दै आशीर्वाद पनि लनुभएको छ । भरतपुर महानगरको मेयरमा कांग्रेसले माओवादी उम्मेदवार रेनु दाहाललाई समर्थन गरेको छ ।




















