सरकारले वैदेशिक रोजगारीका लागि रोमानिया जानेहरूको भिसा सहजीकरणका लागि अस्थायी कन्सुलर कार्यालय स्थापना गरेको छ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा स्थापना गरिएको अस्थायी कन्सुलर कार्यालयले ३ महिनासम्म मात्र काम गर्नेछ । त्यसपछि बन्द हुने वा समय थप हुने भन्ने अहिले नै यकिन भइसकेको छैन ।
यसअघि वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपालीहरूले भिसा प्रक्रियाका लागि भारतको नयाँ दिल्लीस्थित भारतका लागि रोमानिया दूतावास धाउनुपर्ने बाध्यता थियो । रोमानियामा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरूले त्यहाँबाट इम्पोईमेन्ट कन्ट्र्याक्ट प्राप्त गरिसकेपछि भिसा प्राप्तिका लागि आवेदन गर्न दिल्ली जानुपर्ने बाध्यता थियो ।
त्यसरी जाँदा अतिरिक्त समय र पैसा खर्च हुने समस्या थियो । उक्त समस्यालाई समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिसा प्रक्रियालाई सरल बनाउन ताहाचलमा अस्थायी रूपमा रोमानियन मिशन स्थापना गरेको थियो ।



















