हरि आचार्य, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ ठोस योजनाका साथ मतदातासंग भेटघाट तथा उनीहरुका आवश्यकता नियाल्न सक्रियताका साथ लागिपरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै निर्वाचन आयोगले जारी गरेको आचार संहिता पालना गर्दै मतदाता भेटघाटलाई तिब्रता दिएको हो ।
यसैबिच कपिलवस्तु नगरपालिका वडा नं.८ दोहनीमा पार्टीको निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । कार्यालय उद्घाटन गर्दै क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले पार्टीका हरेक क्रियाकलाप गर्नका लागि कार्यालयबाट सहज हुने बताउनुभयो । उहाँले देशमा शान्ती अमनचयन, राजनीतिक स्थिरता तथा राष्ट्रियताका लागि एमालेको विकल्प नरहेको बताउनुभयो ।
सोहि कार्यक्रममा क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यका उम्मेद्वार मधुसुदन शरण चौधरी, एमाले केन्द्रीय सल्लाहकार समिती सदस्य दान बहादुर चौधरी, एमाले नेता कैलाश अग्रहरी, मायादेवी गाउँपालिकाका पुर्व अध्यक्ष बजरंगी प्रसाद कुर्मी लगायतले मन्तब्य राख्दै कपिलवस्तुसंगै देशको विकासका लागि एमाले आवश्यक पर्ने बताउनुभयो ।
सोहि कार्यक्रम मार्फत जसपा जिल्ला कमिटी सदस्य बिष्णु बहादुर चौधरी सहित ७५ जना एमालेमा प्रवेश गरेका छन् । समृद्ध नेपाल सुखी नेपालीको चाहाना पुरा गर्ने एक मात्र पार्टी एमाले मात्रै भएकाले प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।
एमाले कपिलवस्तु नगरपालिका वडा नं. ८ वडा कमिटी अध्यक्ष अनरुल्लाह मुसलवानको अध्यक्षता, भगवानदास चौधरीको स्वागत तथा अजय चौधरीको सञ्चालनमा सम्पन्न कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।




















