काठमाडौं । विगतमा भएका सहमति कार्यान्वयन र आफ्ना मागहरूप्रति सरकार अनुदार देखिएको भन्दै नेपाल शिक्षक महासंघले भदौदेखि पुनः आन्दोलन गर्ने घोषणा गरेको छ ।
महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको महासचिव तुलाबहादुर थापाले जानकारी दिए ।
‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ । आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्छ’, उनले भने । बैठकले आन्दोलनको ठोस मिति, स्वरूप र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यालय बैठकलाई दिएको हो । परिषद्ले सरकारले पटक–पटक भएका सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलन अपरिहार्य बनेको निष्कर्ष निकालेको हो ।
महासंघले सहमतिअनुसार अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, साउन महिनादेखि नै शिक्षकलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन, अव्यवहारिक सरुवा व्यवस्था हटाउन तथा अस्थायी, राहत, ज्यालादारी, संस्थागत, ईसीडी शिक्षक र विद्यालय कर्मचारीका लागि न्यूनतम तलब सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
त्यसैगरी, प्रोत्साहन भत्ताका विषयमा देखिएको अन्योल अन्त्य गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल आधिकारिक वक्तव्य जारी गर्दै स्पष्ट तलबमान सार्वजनिक गर्नुपर्ने माग पनि महासंघले अघि सारेको छ ।




















