थानेश्वर अधिकारी । जीवनले कहिलेकाहीँ मानिसलाई उसले नचाहेको बाटोमा हिँडाउँछ। रहरले होइन, बाध्यताले विदेश पुर्याउँछ। आफ्ना सपना बोकेर घरबाट निस्किएको मान्छेले परदेशमा वर्षौं पसिना बगाउँछ। परिवारको खुसीका लागि आफ्ना कैयौँ खुसीहरू थाती राख्छ। अनि एक दिन फर्किएर आफ्नै माटोमा केही गर्ने सपना देख्छ।
कमल भुसालको जीवनकथा पनि यस्तै संघर्ष, पीडा, धैर्य र आशाको कथा हो।
मेहनती, सहयोगी र सरल स्वभावका कमलले सन् २००५ अर्थात् २०६२ सालमा पहिलोपटक वैदेशिक यात्राको बाटो रोजे। हातमा ठूलो पुँजी थिएन, विशेष सीप पनि थिएन। थियो त केवल परिवारको भविष्य राम्रो बनाउने सपना र आफूले केही गर्नुपर्छ भन्ने हुटहुटी।
त्यही सपना बोकेर उनी दुबई पुगे।
दुबईमा करिब दुई वर्ष बिताए। तर, सोचेअनुसार राम्रो काम र अवसर पाउन सकेनन्। परदेशमा पुगेपछि सबै कुरा सहज हुन्छ भन्ने कहाँ थियो र ! अपेक्षा पूरा नभएपछि उनी नेपाल फर्किए।
तर, नेपाल फर्किएर पनि उनको संघर्ष रोकिएन।
केही समयपछि उनी फेरि विदेशिए—यसपटक गन्तव्य बन्यो ओमन। ओमनमा उनले राम्रो तलबसहित काम गर्ने अवसर पाए। परिवारको भविष्य बनाउने सपना बिस्तारै आकार लिन थालेको थियो।
तर नियतिलाई अर्कै केही स्वीकार्य थियो।
अचानक बुबा बिरामी भएको खबर आयो।
परदेशमा रहेका छोराका लागि त्यो खबर सामान्य थिएन। कमाउन गएको मान्छे एकाएक घर सम्झिन थाल्यो। परिवारभन्दा टाढा बसेर पैसा कमाउनु र परिवारकै एक सदस्यलाई जीवन–मृत्युको दोसाँधमा देख्नुबीचको पीडा कमलले त्यही बेला महसुस गरे।
उनी ओमन छाडेर नेपाल फर्किए।
तर, नेपाल फर्किएको केही समयमै उनले जीवनकै ठूलो पीडा भोग्नुपर्यो—बुबाको निधन भयो।
परदेशबाट फर्किएको छोरोले बुबासँग धेरै कुरा गर्ने, केही समय सँगै बस्ने र आफ्नो सफलताको कथा सुनाउने सपना बोकेको थियो होला। तर, समयले उनलाई त्यो अवसर दिएन।
बुबाको मृत्युले उनलाई भित्रैदेखि हल्लायो।
त्यसपछि उनले सोच्न थाले—अब विदेश होइन, आफ्नै देशमा केही गर्नुपर्छ।
नेपालमै व्यवसाय गर्ने, आफ्नै खुट्टामा उभिने र परिवारसँगै बसेर जीवन बिताउने उनको चाहना थियो। तर चाहना मात्र भएर कहाँ पुग्थ्यो र ! लगानी थिएन, पर्याप्त सीप थिएन र व्यवसाय सुरु गर्ने आधार पनि कमजोर थियो।
अन्ततः उनी फेरि परदेशकै बाटो रोज्न बाध्य भए।
यसपटक उनको गन्तव्य बन्यो कुवेत।
कुवेतमा उनले लामो समय काम गरे। दिन बिते, महिना बिते, वर्ष बिते। परदेशको तातो घाम, थकान, एक्लोपन र परिवारबाट टाढाको जीवनलाई उनले सहँदै गए।
उनका लागि प्रत्येक दिनको श्रमको अर्थ थियो—घरमा परिवारको भविष्य।
विदेशमा कमाएको पैसाले उनले बुटवलको बेलबासमा घर बनाए। छोरीलाई मेडिकल क्षेत्रमा पढाइरहेका छन्। आफूले परदेशमा भोगेको संघर्षले छोरीको भविष्य उज्यालो बनोस् भन्ने उनको चाहना छ।
तर, घर बनेपछि पनि उनको मन पूर्ण रूपमा सन्तुष्ट भएन।
किनकि एउटा प्रश्न उनको मनमा सधैँ थियो—
‘अरूको देशमा जीवनका यति धेरै वर्ष बिताएँ, अब आफ्नै देशमा के गर्न सक्छु ?’
करिब १४ वर्ष विदेशी भूमिमा कर्म गरेपछि अन्ततः कमल नेपाल फर्किए।
यसपटक उनी विदेशमा जागिर खोज्न होइन, आफ्नै देशमा अवसर खोज्न फर्किएका थिए।
विदेशमा सिकेको एउटा कुरा उनले राम्ररी बुझेका थिए—श्रमको कुनै विकल्प हुँदैन।
त्यही विश्वास बोकेर उनले स्वदेशमै लगानी गर्ने निर्णय गरे। परिणामस्वरूप कपिलवस्तु–काठमाडौं रुटमा सञ्चालन हुने सिल्पर एसी डिलक्स ‘दियालो’ बस सेवा सुरु गरे।
उनका लागि ‘दियालो’ केवल एउटा बस होइन।
यो १४ वर्षको संघर्षपछि आफ्नै माटोमा बालिएको एउटा आशाको दीप हो।
दुबईमा असफल भएको यात्रादेखि ओमनमा पाएको राम्रो अवसर, बुबाको बिरामीको खबरदेखि मृत्युको पीडा, नेपालमा केही गर्ने चाहना हुँदाहुँदै लगानीको अभाव र त्यसपछि कुवेतमा बिताएका वर्षहरू—यी सबै घटनाले कमललाई आजको अवस्थामा ल्याइपुर्याएका छन्।
उनको कथा कुनै रातारात सफल भएको मानिसको कथा होइन।
यो त हारेर पनि नहारेको मानिसको कथा हो।
परदेशमा श्रम बेचेर कमाएको पैसालाई उनले आफ्नो जीवन बदल्ने माध्यम बनाए। परिवारको भविष्य सुरक्षित गरे। छोरीको शिक्षामा लगानी गरे। घर बनाए। अनि अन्ततः आफूले कमाएको र सिकेको कुरा आफ्नै देशमा लगानी गर्ने निर्णय गरे।
कमल भन्छन्, ‘मान्छेले आफूभित्रको श्रम र सीपलाई परिश्रमको मोती मानेर रोप्न सक्यो भने त्यसले एक दिन अवश्य फल दिन्छ।’
उनको यही विश्वास अहिले उनको नयाँ यात्राको आधार बनेको छ।
उनी अहिले पनि ठूलो सपना देखिरहेका छन्। तर त्यो सपना विदेशको कुनै सहरमा होइन, आफ्नै देशको सडकमा छ। आफ्नै माटोमा छ। आफ्नै मानिसहरूसँग छ।
दियालो बस सडकमा गुडिरहँदा त्यससँगै कमलको १४ वर्षे संघर्ष पनि गुडिरहेको हुन्छ।
कहिले दुबईको अपरिचित गल्लीमा हिँडेको त्यो पाइला, कहिले ओमनबाट आएको बुबाको बिरामीको खबर, कहिले कुवेतको श्रम र पसिना, कहिले घरपरिवारको सम्झना र कहिले स्वदेशमै केही गर्ने अधुरो सपना—यी सबै सम्झनालाई उनले अहिले एउटा नयाँ यात्रामा बदलेका छन्।
परदेशले उनलाई कमाउन सिकायो, पीडाले सहन सिकायो र संघर्षले आफ्नै देशमा केही गर्न सिकायो।
आज कमल भुसाल आफ्नै माटोमा उभिएका छन्।
हातमा पसिनाको कमाइ छ, मनमा संघर्षको अनुभव छ र आँखामा एउटा नयाँ सपना—
‘अब अरूको देशमा होइन, आफ्नै देशमा केही गरेर देखाउने।’
यही अठोटसँगै कपिलवस्तु–काठमाडौं सडकमा ‘दियालो’ गुडिरहेको छ।
र, त्यसको हरेक यात्रासँगै एउटा सन्देश पनि अघि बढिरहेको छ—
विदेशमा बगाएको पसिना यदि आफ्नै देशमा लगानी गर्ने हिम्मतमा बदलियो भने, आफ्नै माटोमा पनि भविष्यको बाटो बनाउन सकिन्छ।




















