११ चैत, काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गरेको हो ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले १५ फागुनमै लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री मृर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठक बस्न नसकेकाले सिफारिस उपर निर्णय हुन समय लागेको थियो ।
उनीहरुले २५ असार २०४७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
क्षेत्री र पाल १९ वैशाख २०४९ मा नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन् । क्षेत्री र पालमध्ये एक जनाले २४ असार २०७६ पछि नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् । यदि ३० वर्षे सेवाअवधि हटे ठाकुरकै कार्यकाल लम्बिनेछ ।
हाल क्षेत्री केन्द्रीय प्रहरी प्रवक्ता छन् भने पाल आतंकवाद र विशेष प्रकृतिको अनुसन्धानमा खटिने विशेष ब्युरोको नेतृत्व गरिरहेका छन् ।
यसअघि पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले २८ माघमा अवकाश पाएसँगै तीन एआईजी पद रिक्त थिए ।