लुदअ, साउन २
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ । वल्डोमिटरका अनुसार शुक्रबार बिहानसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख पाँच हजार ६३७ पुगेको छ ।
यस्तै २५ हजार ६०९ जनाले भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । विश्वमा सबैभन्दा बढी सङ्क्रमित भएका देशमध्ये अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा पुगेको छ ।
भारतमा दैनिक ३० हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमणको पुष्टि हुने गरेको छ । सङक्रमितको सङ्ख्या बढेसँगै निको हुने दर पनि बढीरहेको छ । भारतमा कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत बिरामी निको भएका छन् ।
भारतका स्वास्थ्य मन्त्री हर्सवर्दनले सङ्क्रमितमध्ये धेरैजसोमा सामान्य लक्षण भएको बताउनुभएको छ । उहाँका अनुसार शून्य दशमलव ३२ प्रतिशत कोरोना सङ्क्रमितलाई भेण्टिलेटरमा राखिएको छ भने तीन प्रतिशतलाई अक्सिजनको आवश्यकता रहेको छ ।