पार्बती आचार्य कपिलबस्तु, असोज ११
बाणगंगा नगरपालिका वडा नं ६ अमौलीका एक बिरामीमा डेंगु संक्रमण रोग देखा परेको छ । दुई दिन देखि उच्च ज्वरो लगातार आएको र ज्वरो नरोकिएपछि सि एण्ड सि अस्पिटलमा उपचार गराउन आएका बिरामीमा डेंगु रोग पुष्टि भएको सि एण्ड सि हस्पिटलको प्रशासन शाखाले जानकारी दिएको छ । उनमा एक हप्ता देखि सामान्य ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने, मुख सुख्खा रहने र आलस्य हुने लगाएतका लक्षण देखा परेको बिरामी ३६ बर्षीया सान्ता पोखरेलले बताईन् ।
असोज ५ गते देखि उक्त समस्या देखा परेपछि ७ गते बनगाईमा रहेको एक फार्मेसीमा उपचारकालागि गईन् । त्याहाँ टाईफाईड भएको र पिसाव खराब छ भन्ने रिपोर्ट आयो रिपोर्टका आधारमा औषधी लिएर आएको उनले बताईन् ।
औषधीले काम नगरेपछि ज्वरो अत्याधिक मात्रामा बढ्दै गएपछि आईतबार बिहान सि एण्ड सि हस्पिटलमा आएर जाँच गर्दा डेंगु पोजेटिभ पुष्टि भयो । समयमा र सही ठाउँमा उपचार गर्न सके रोगलाई सजिलै जित्न सक्नुका साथै छिट्टै निको हुने बिरामीका देवर छबिलाल पोखरेलले बिश्वास ब्यक्त गरे ।
अहिले उनको सि एण्ड सि असिपटलमा उपचार भैरहेको छ । बिहान भन्दा स्वास्थ्यमा सुधार आएको छ । एईडीइएस नामको लामखुट्टेको टोकाईबाट यस रोगको लक्षण देखा पर्दछ । यस रोगको लक्षण ५ दिन देखि १२ दिन सम्म रहने डाक्टर संघर्ष थापाले बताए । उक्त लामखुट्टे बढी फोहोर भएको स्थानमा बस्ने गर्दछ । फोहोर पानी जमेको ठाउँ, टायल, नल र ढुसी लागेको ठाउँमा यस लामखुट्टेको बासस्थान हुने भएको हुँदा घरवरिपरि पानीजम्न नदिने र सरसफाईमा ध्यानदिन आबश्यक रहेको सि एण्ड सि अस्पिटलका एमडी गोपाल मिमिरेले जानकारी दिए ।
यस्तै नगरमा डेंगु सम्बन्धि सचेतना मूलकको कार्यक्रम भए पनि कोरोना भाईरस संक्रमणका कारण डेंगु तर्फ कुनै पनि कार्य गर्न नसकिएको बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।