अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, मंसिर २७

मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु र श्री सद्भाव युवा समाज कतारको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसा भन्ने मुल नाराका साथ स्थापनाकाल देखिनै विभिन्न मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आईरहेको उक्त संस्थाले देशैभर रगतको अभाव भईरहेको समस्यालाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका सभापति गोबिन्दराज पोख्रेलले जानकारी दिए ।

रक्तदान जीवनदान भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै आयोजित कार्यक्रममा कार्यक्रममा सि एण्ड सी अस्पताल चार नम्बर र ब्लड बैंक बुटवलको प्राविधिक सहयोग तथा यस क्षेत्रका विभिन्न व्यवसायी तथा संघ संस्थाले सहआयोजनाको भुमिका निर्वाह गरेका थिए । सभापति पोख्रेलले ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर रक्तदान जीवनदान भन्ने मुल नाराका साथ संस्थाले आयोजना गरेको कार्यक्रममा विदेशमा रहेर पनि सहयोग गर्ने श्री सद्भाव युवा समाज कतारका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरे ।

नेपालीहरुलाई रगतको कारणले कुनै समस्या नपरोस भन्ने उद्देश्यले विदेशमा रहेर पनि यो पुण्डित तथा मानवीय कार्यमा सहयोग गरेको आयोजक संस्था श्री सद्भाव युवा समाज कतारका अध्यक्ष गुणानिधी घिमिरेले बताएका छन् । अध्यक्ष घिमिरेले प्रवासमा रहेर पनि आफ्नो देशका विभिन्न सामाजिक एवम् मानवीय कार्यहरुमा सहयोग गरिरहेको भन्दै क्लवका पदाधिकारी तथा सदस्यहरु प्रति धन्यवाद प्रकट गर्दै गर्व महशुस भएको बताए ।

उनले कार्यक्रममा सहयोग गर्ने यस क्षेत्रका थुप्रै व्यवसायी तथा संघ संस्थाहरुलाई यस विशुद्ध मानवीय सेवामा सहयोग गरेकोमा आभार प्रकट गरे । सभापति पोख्रेलले देशैभर रगतको अभावका कारण कैयौँ मानिस छटपटाईरहेको तथा ज्यानै समेत जाने भएकोले एक पोका रगतले कसैको जीवन बच्ने बताए । उनले आगामि दिनमा रक्तदान जस्तै अन्य सामाजिक र मानवीय कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

 

कार्यक्रमका प्रमुख अतिथि वाणगंगा नगरका नगर प्रमुख मंगल प्रसाद थारुले संस्थाले गरेको कार्य प्रशंसनीय रहेको बताउदै ब्लड बैंक स्थापनाका लागि नगरपालिकाबाट सक्दो प्रयास गर्ने बताए । थारुले रक्तदान जस्तो पवित्र कार्यक्रमको सफलताको शुभकामना दिंदै संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

निकै उत्साहपुर्व र सक्रियता पुर्वक कार्यक्रम सम्पन्न भएको र जम्मा ५२ प्वाईन्ट रगत संकलन भएको कार्यक्रम संयोजक शान्ती समाज तथा मानव अधिकार कपिलवस्तुका सदस्य माधव घिमिरेले जानकारी दिएका छन् । कार्यक्रम संयोजक घिमिरेले रक्तदान गर्दा शरिर कमजोर हुन्छ भन्ने भ्रममा नलाग्न आग्रह गर्दै बरु स्वस्थ हुने बताए ।

सि एण्ड सि अस्पतालका प्रमुख गोपाल घिमिरेले अस्पतालले यस्ता विभिन्न कार्यक्रममा प्राविधिक सहयोग गर्दै आईरहेको र आगामि दिनमा पनि गर्ने प्रतिवद्धता व्यक्त गरे ।

रक्तदाताहरुलाई सु–स्वास्थ्य दिर्घायुको कामना सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

संस्थाका सभापति पोख्रेलको अध्यक्षता, प्रेस संयोजक सागर बेल्बासे, विभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेवी, रक्तदाताहरुको उपस्थिती तथा कार्यक्रम संयोजक तथा संस्थाका सदस्य माधव घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ मंसिर २७, शनिबार ११:०८