भारतले भन्यो संसद विघटन नेपालको आन्तरिक मामिला

[sharethis-inline-buttons]

काठमाडौँ —
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतीय विदेश मन्त्रालयले आन्तरिक मामिला भनेको छ । बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची ले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताएका हुन् । बागची ले भनेका छन्, ‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका छौं । यसलाई हामी नेपालको आन्तरिक मामिलाका रुपमा नै लिन्छौँ ।’

त्यस्तै नेपालले अहिलेको समस्या आफै समाधान गर्नपर्ने पनि भारतीय विदेश मन्त्रालयको भनाइ छ । ‘नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।त्यस्तै एक छिमेकी मुलुक भएका नाताले भारतले सधैं नेपालको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा समर्थन गर्ने पनि विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

पछिल्लो समय नेपालको राजनीतिक मामिलामा भारतीय हस्तक्षेप रहेको भन्ने धारणा विकास भएको समयमा भारतीय विदेश मन्त्रालयद्वारा स्पष्टीकरण आएको हो । केही दिनअघि मात्रै नेपालका लागि भारतीय पूर्वराजदूत रन्जित रेले ‘भारत नेपालमा निरंकुश शासनको पक्षमा छ भन्ने आम धारणा’ लाई भारतले हटाउनुपर्ने बताएका थिए ।


प्रकाशित : २०७८ जेष्ठ १२, बुधबार ०६:५२