लुदअ जेठ ३१, कपिलवस्तु

नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरी कारबाही प्रक्रियाअघि बढाएको छ । नेता पाण्डेको हत्यामा उहाँकै श्रीमतीको मुख्य भूमिका रहेको प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताउनुभयो । उहाँकी पत्नी महिमा पाण्डेले गएको दुई तीन वर्षदेखि पति दीपक पाण्डेको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

मृतक पाण्डेकी पत्नीसँग अनैतिक सम्बन्ध भएका कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओमप्रकाश यादवसहित १० जनाको समूहको संलग्नतामा हत्या भएको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । नेता पाण्डेलाई पत्नी महिमा पाण्डे र ओमप्रकाश यादवको योजनामा कपिलवस्तु नगरपालिका २ का रमजान साह र शाकिर अलीपखियाको संलग्नतामा हत्या गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । यस्तै हत्याराहरूलाई हतियार उपलब्ध गराउने, संरक्षण गर्ने र हतियार ओसारपोसार गर्ने कार्यमा थप सात जना रहेका छन् ।

प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका १ कैलाश टोलका ३५ वर्षीय पूर्णवीर पाल्पाली, कपिलवस्तु २ बर्दहवाका सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका ४ पोखरभेटवाका ज्ञानेन्द्रकुमार पाण्डेय, यशोधरा ४ सेमरीका राधेश्याम चौधरी, कपिलवस्तु ५ गोटिहवाका श्रीराम कुर्मी, कपिलवस्तु १ मस्जिद टोलका नसरत अली र कपिलवस्तु २ बरगदवाका प्रवीण गुप्ता रहेका छन् ।

उनीहरुले दीपकको हत्या गर्नका लागि रकम लिने, बरामद हतियार खरिद बिक्री, ओसारपोसार गर्ने, सहयोग गर्ने र अभियुक्तलाई संरक्षण दिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । गएको जेठ ५ गते कपिलवस्तु ६ गोवरी सडकमा निग्लिहवाबाट घर आउँदै गर्दा बेलुका ११ बजे नेता पाण्डेमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट घाइते हुनुभएका नेता पाण्डेको भैरहवाको मेडिकल कलेजमा उपचार भएको र थप उपचारका लागि हेलिकप्टरमा काठमाण्डौ लैजाँदै गर्दा ज्यान गएको थियो ।

त्यस घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको कमान्डको टोलीले एक महिना नबित्दै घटनामा संलग्न दशै जनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढेको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *