देउवाको पक्षमा गरेको हस्ताक्षर सोमवार बेलुका ५ बजेसम्म फिर्ता लिन एमालेको आह्वान

[sharethis-inline-buttons]

लुदअ असार १८, काठमाण्डौ
नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने एमाले सांसदहरूलाई सोमवारसम्ममा हस्ताक्षर फिर्ता लिन आह्वान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूलाई सोमवार बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन आग्रह गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

उहाँले बहुदलीय प्रणालीमा दलको निर्णय विपरीत दलका सदस्यले गरेको हस्ताक्षर अनधिकृत हुने पनि सम्बद्ध पक्षलाई जानकारी गराउने निर्णय गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकले आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहनुभएका वर्तमान सरकारलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भनेर हस्ताक्षरसहित राष्ट्रपति समक्ष पुग्नु र त्यसमध्ये केही साथीहरू मुद्दाको पक्ष बनेर सर्वोच्च अदालतसम्म जानु देशको संविधान, लोकतान्त्रिक प्रणाली, पार्टी विधान, देश र नागरिकको चाहना, हित केहीसँग पनि मेल खाने विषय होइन । त्यो हस्ताक्षरलाई आउने सोमवार बेलुका ५ बजेसम्म फिर्ता लिएर आन्दोलनको एकतामा योगदान गर्नका निम्ति हामीले आह्वान गरेका छौँ । र त्यस्तो अनधिकृत हस्ताक्षर बहुदलीय प्रणालीमा दलको निर्णय विपरीत दलका सदस्यले गरेका हस्ताक्षरको कुनै मान्यता हुन नसक्ने, अर्थ, वैधता हुन नसक्ने पनि सम्बद्ध सबैमा जानकारी गराउने निर्णय गरेका छौँ ।’

बैठकले पार्टी एकतालाई सुदृढ पार्नका लागि नेता कार्यकर्तालाई आह्वान गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान दिन नेता, कार्यकर्तामा आह्वान गरिएको छ ।

 


प्रकाशित : २०७८ असार १८, शुक्रबार १२:४०