नवलपुर, २ साउन
२ दिनदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ बाकखोरका १८ घरका १ सय जना २७ स्थानीय विस्थापित भएका छन् । २८ घर उच्च जोखिममा परेका छन् । विस्थापित भएका परिवारमध्येका ३ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । बाकखोरका १५ र बसेनीका १३ घर उच्चजोखिममा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले बताए । बाढीले केही वस्तुभाउ समेत बगाएको छ ।
स्थानीय खाली खोलामा आएको बाढीले जमिन कटान गर्दा घरहरु भाँसिन पुगेका हुन् । विस्थापितहरुलाई वडा नं. १ जुकेपानीस्थित जनता मावि बेलुवामा राखिएको डिएसपी गिरीले बताए । विस्थापितहरुलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले उद्दार गरी विद्यालयमा आश्रय दिएर राखेको हो । विस्थापितहरुलाई गाउँपालिकाले खानाको व्यवस्था गरेर राखेको अध्यक्ष लक्ष्मी पाण्डेले बताईन् ।
बर्षाका कारण शनिबार दिउँसोसम्म जिल्लाका अन्य क्षेत्रमा कुनै क्षति पुगेको जानकारी नआएको प्रहरीले जनाएको छ ।




















