महामारीमा पनि बुटवल उपमहानगरलाई राजश्व संकलनमा सफलता

[sharethis-inline-buttons]

बुटवल । साउन ८

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोरोना महामारीका बीच पनि आन्तरिक राजश्व परिचालनमा सफलता प्राप्त गरेको छ । उपमहानगरपालीकाले आर्थिक वर्ष २०७७÷७८ मा राजश्व संकलनमा उल्लेख्य प्रगति गर्न सफल भएको हो । विश्वव्यापी कोरोना महामारीका बीच पनि उपमहानगरको आन्तरिक श्रोत अन्तरगत राजश्व संकलनको लक्ष्य १०७ दशमलव ४ प्रतिशत पूरा गर्न सफल भएको छ ।

उपमहानगरका योजना शाखा प्रमुख विष्णु खनालका अनुसार एक वर्षको अवधिमा ५० करोड ४९ लाख राश्व संकलन भएको छ । गत वर्ष उपमहानगरमा ४७ करोड १ लाख राजश्व संकलन भएको थियो ।
बुटवल उपमहानगरले गत आर्थिक वर्ष २०७७÷७८ मा ६८ दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको छ । गत वर्ष कोरोना महामारीले रोकिएका योजनाहरुलाई कार्यान्वयन र सम्पन्न गर्ने कुरालाई प्राथमिकतामा राखेको उपमहानगरले यो वर्ष पूँजीगत तर्फ ६३ दशमलव ७३ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको हो । कोरोना महामारीले प्रभावित बनेको गत वर्ष ५६ दशमलव १९ प्रतिश लक्ष्य हासिल गरेको थियो । उपमहानगरले यो वर्ष ७५ दशमलव ६३ प्रतिशत लक्ष्य प्राप्त गरेको छ भने गत अघिल्लो आर्थिक वर्षमा ६७ दशमलव ३३ प्रतिशत लक्ष्य प्राप्त गरेको थियो ।


प्रकाशित : २०७८ श्रावण ८, शुक्रबार ०७:४६