
काठमाडौँ , साउन ३१
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार २४।५७ अङ्कले घटेर ३ हजार १५४।३४ बिन्दुमा थामिएको छ । सेन्सेटिभ परिसूचक पनि आज १।८० अंकले घटेर ५८९।३९ बिन्दुमा ओर्लिएको छ । पछिल्लो केही दिनयता सामान्य रूपमा बढेको बजारमा आज भने गिरावट आएको छ ।
यो दिन खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हावी भएपछि कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ । आज कारोबार अवधिभर कूल २२२ ओटा कम्पनीको १ लाख ८९ हजार ७३६ पटकको व्यापारमा ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर खरिदबिक्री भएका छन् ।
मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा निर्धारण गरेको कारण आज बजार प्रभावित भएको हुनसक्ने विश्लेषकहरुले बताएका छन् । मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा अधिकतम १२ करोड रुपैयाँ तोकिएको छ ।
नेप्से परिसूचक घटेको भए पनि आज बजारमा कारोबार रकमले भने आज नयाँ रेकर्ड कायम गरेको छ । गत जेठ १३ गते शेयर बजारमा सर्वाधिक बढी १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सो दिनको रेकर्ड ब्रेक गर्दै आज नयाँ रेकर्ड बनाएको हो ।
आज शेयर बजारमा २१ अर्ब ६४ करोड ७६ लाख ६५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो रकम हालसम्मकै उच्च हो ।
हाइड्रोमा भारी गिरावट
यो दिन कारोबारमा आएका तीनओटा समूहबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ । हाइड्रो पावरमा चलखेल भएको हुनसक्ने समाचार प्रकशित भएसँगै आज हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक बढी गुमाएका छन् । बजारलाई लिड गरिरहेको हाइड्रो पावर समूहको परिसूचक आज एकैपटक ४।१३ प्रतिशतले घटेको हो ।
यसैगरी पछिल्लो समय प्रायः कमाइरहेका विकास बैंक र वित्त समूहका लगानीकर्ताहरुको लागि पनि आज सुखद रहेन । विकास बैंकका लगानीकर्ताहरुले २।७७ प्रतिशतले गुमाउदा वित्त समूहका लगानीकर्ताहरुले भने २।८८ प्रतिशतले गुमाएका छन् ।
त्यस्तै, बीमा समूहको १।०५ प्रतिशत, निर्जीबन बीमा समूहको १।५४ प्रतिशत, अन्य समूहको १।९४ प्रतिशत, व्यापारिक समूहको ०।९१ प्रतिशत, होटल्स र पर्यटन समूहको १।७५ प्रतिशत, बैंकिङ समूहको ०।३४ र म्युचुअल फण्डको ०।७२ प्रतिशतले बजार घटेको हो ।
घटेको बजारमा आज उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले भने सबैभन्दा बढी कमाएका छन् । यस समूहको परिसूचक २।३५ प्रतिशतले बढ्दा लघुवित्त समूहको २ प्रतिशत र लगानी समूहको परिसूचक ०।५४ प्रतिशतले बृद्धि भएको छ ।
आइतबार खानीखोला हाइड्रो पावर, जीवन विकास र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा १० प्रतिशतको सर्किट लागेको छ भने आइसिआएफसि फाइनान्स कम्पनीको शेयरमूल्य पनि ९।५६ प्रतिशतले बढेको छ । यो दिन एनआईविएल प्रगति फण्डका लगानीकर्ताहरुले सर्वाधिक बढी ८।५४ प्रतिशतले गुमाएका छन् भने रिडी हाइड्रो पावरको शेयरमुल्य पनि ८।५२ प्रतिशतले घटेको छ ।
श्री इन्भेष्टमेन्ट फाइनान्स, रसुवागढी हाइड्रो पावर र माथिल्लो तामाकोशीका लगानीकर्ताहरुले पनि आज ६ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।
यस दिन कारोबार रकमका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । कारोबार अवधिभर नेपाल बैंकको मात्रै १ अर्ब ५ करोड ४६ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टीलरीको ७९ करोड २५ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । स्रोत शेयर बजार

