
लुदअ कपिलवस्तु, भदौ १४
कपिलबस्तुको बाणगंगा ६ लक्ष्मणघाटमा कृषि उपज संकलन केन्द्र उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले बोल्दै कृषि उपज सङ्कलन केन्द्रमा अब गाउँगाउँबाट तरकारी सङ्कलन हुने र बजारीकरण हुने हुँदा स्थानीय कृषकलाई लाभ मिल्ने बताए । कार्यक्रममा बोल्दै सांसद पन्थीले सहकारीले अब संकलन केन्द्र निरन्तर संचालनका लागि व्यवसायिक किसान तयार पर्नुपर्ने बताउनुभयो ।
आफ्नो क्षेत्रमा निर्माण भएको केन्द्रले स्थानीय कृषकले प्रशस्त लाभ लिनसक्ने अपेक्षा गर्दै आगामी दिनमा संरचना निर्माण तथा अन्य आवश्यक कार्यका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरे । विशिष्ट अतिथी कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाकेंको प्रमुख अमरराज शर्माले भर्चुवल माध्यमबाट सम्बोधन गर्दै संकलन केन्द्रको संरचना निमार्ण गर्नु ठुलो कुरा नभएको बताउदै यसलाई अब निरन्तर रुपमा अगाडी बढाउदै लौजानु ठुलो कुरा रहेको औल्याए । उनले गत बर्ष १८ वटा संकलन केन्द्रका संरचना निमार्ण भएको बताउदै यस सहकारीले अन्य निकायसंग समन्वय गर्दै लैजानुपर्नेमा जोड दिए ।
यस्तै कृषि शाखा प्रमुख लेस बहादुर केसीले बोल्दै नेपालीहरुको मुख्य पेशा नै कृषि भए पनि सरकार पक्षबाट कृषिमा कम लगानी हुनु दुखद विषय भएको बताए । उनले भने नेपालमा करिब ६६ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् तर सरकारले कृषिमा जम्मा २।३ प्रतिशत लगानी गर्नु विडम्बना हो, अब सरकारले कृषि क्षेत्रमा लागनी बढाउनु पर्छ । साथै उहाले अगाडी भन्नुभयो कृषकको सेवा सुविधाका लागि प्रत्येक वडामा १।१ जना प्राविधिक आवश्यक छ ।
यस्तै कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष भिष्मराज भुषालले कृषि उपज संकलन केन्द्रले अब कृषि बस्तु विक्रिवितरण गरि किसानको आर्थिक अवस्थाको सुधार हुने विश्वास लिएको बताए । विगतका दिनमा कृषकका उत्पादन खेर गएको बताउदै संकलन केन्द्रले कृषकका उत्पादन बृद्धि गर्दै आयस्तरमा समेत बृद्धि गर्न सक्नुपर्ने औल्याए । वडानं. ६ का वडा अध्यक्ष सुकदेव चौधरीले वडा तथा नगरले बास्तविक किसानलाई प्रोत्साहन गर्ने बताउदै अब अनुदान लिनको लागि मात्र नभई व्यवसायिक बन्नका लागि कृषि गर्नुपर्ने बताए । कार्यक्रममा माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारीका अध्यक्ष युवराज पोख्रेलले अब स्थानीय कृषकका उत्पादन कृषि उपज सङ्कलन केन्द्रमा सङ्कलन गर्ने र आवश्यक मात्रामा स्थानीय बजारमा खपत गर्ने कार्यले स्थानीय कृषकलाई लाभ हुने बताए ।
कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाकंको ६० प्रतिसत सहयोग तथा कृषि तथा पशु विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड लक्ष्मणघाटको ४० प्रतिशत लगानीमा संकलन केन्द्र संचालनमा आएको हो । सहकारीको ६ लाख ६६ हजार र कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र खजुराको १० लाख अनुदान सहयोगमा संकलन केन्द्र संचालनमा ल्याईएको सहकारीका अध्यक्ष ठाकुर प्रसाद पोख्रेलले बताए । उद्घाटन कार्यक्रम सहकारीका सदस्य हुमनाथ भटट्राईको संचालन तथा उपाध्यक्ष खड्ग बहादुर थापाको स्वागतमा सम्पन्न भएको हो । आफ्नै गाउठाउमा कृषि उपज केन्द्र संचालनमा आएपछि कृषक खुसी भएका छन् ।