हर्ट विटको चौथो स्थापना दिवस : सम्मान तथा पर्यटन प्रबद्र्धनका लागि सहयोग प्रदान

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
म्याजिक ईन्टरटेनमेन्ट मिडिया प्रा.लि. द्धारा सञ्चालित हर्ट विट एफ.एम. ९१.३ मेगाहर्जको चौथो स्थापना दिवस भब्यताका साथ मनाईएको छ । सत्यको संवाहक, सुचना संगीतको सारथी भन्ने मुल मर्मका साथ अगाडि बढेको हर्ट विट एफ.एमको स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व, शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । पानसमा बत्ती वालेर तथा केक काटेर कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

बाणगंगा १ बैरियामा सम्पन्न कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत मधौलिया सामुदायिक वनद्धारा निर्माणाधिन पार्कका लागि पंखा हस्तान्त्रण गरिएको छ । पार्क घुम्न आउने पर्यटकहरुलाई सहज होस् भन्ने त्यहाँ रहेका प्रतिक्षालयका लागि हर्ट विट एफ.एमका अध्यक्ष धातानन्द भुसालले वनका अध्यक्ष खडानन्द गौतमलाई ४ थान पंखा हस्तान्त्रण गरेका हुन् ।

पंखा ग्रहण गर्दै वनका अध्यक्ष गौतमले पर्यटकीय क्षेत्रको विकासका लागि यस संचारगृहले गरेको सहयोग प्रति आभार व्यक्त गरेका थिए ।
त्यस्तै स्थापना दिवसकोे अवसर पारि एफ. एमका पुर्व अध्यक्ष तथा हाल प्रमुख सल्लाहकार कृष्ण प्रसाद भट्राई, प्रबन्ध निर्देशक रमेश घिमिरे, स्टेशन म्यानेजर हरि घिमिरे सहित सम्पुर्ण कर्मचारीलाई सम्मान गरिएको छ भने नियमित विज्ञापनदाता आलमदेवी फर्निसिङ एण्ड डेकोरेशनका सञ्चालक खिमानन्द घिमिरेलाई सम्मान गरिएको हो । कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले सम्पुर्ण कर्मचारीलाई नगद, खादा र सम्मान पत्र सहित सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले छोटो समयमै आफ्नो पहिचान बनाउन सफल भएको भन्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर थारुले संमृद्ध नगरपालिका निर्माणका लागि संचारमाध्यमको अहम भूमिका रहने भएकाले नगरपालिकाका संचारगृहलाई नगरपालिकाले उचित ध्यान दिएको बताए । उनले यो २१ औँ युगमा सञ्चार माध्यमको आवश्यकता रहेको भन्दै संचारकर्मीले सत्य, तथ्य तथा निश्पक्षमा आधारित पत्रकारीता गर्न आवश्यक रहेको बताए ।

त्यस्तै नगर उप प्रमुख चक्रपाणि अर्यालले स्थापना काल देखिनै यस एफ.एम. ले कुनै पनि राजनितिक दलको मुख पत्र नबनी निष्पक्ष पत्रकारीता गर्नु प्रशंसनिय रहेको बताए । विशिष्ट अतिथि समेत रहेका उप प्रमुख अर्यालले बाणगंगा नगरपालिकालाई सके सम्म मिडियामैत्री बनाउन नगरपालिका लागि परेको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले संचार माध्यम निष्पक्ष रुपमा सञ्चालन हुनुपर्ने हुंदा यस एफ.एमले अहिलेसम्म निष्पक्षतालाई विशेष ध्यान दिएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरिले रेडियो संचालन गर्न चुनौतिपूर्ण रहेको भन्दै अबका दिनमा प्रदेश सरकारबाट विज्ञानपनका लागी आफुहरुले पहल गर्ने बताएका छन् । अध्यक्ष गिरीले कोभिडको समयमा संचारमाध्यमहरु मारमा परेको र यस्ता समस्या समधानका लागी आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले हर्ट विट एफ.एम. एक व्यवसायीक रेडियो भएकाले यसले अरुले भन्दा फरक धार समातेर काम गर्नुपर्ने सुझाव दिए । यसका लागि स्थानिय तहले अपनत्व ग्रहण गर्न आवश्यक रहेको बताए ।

त्यस्तै वडा नं. १ का वडाध्यक्ष वालकुमारी पन्त अधिकारी, वडा नं. २ का वडाध्यक्ष बिष्णु पौडेल, वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसाल, कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, सयपत्री क्याम्पसका प्रबन्ध निर्देशक सुरेन्द्र घिमिरे लगायतले शुभकामना मन्तब्य दिंदै हर्ट विट एफ.एमले छोटो समयमा राम्रो पहिचान बनाएको भन्दै सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै सञ्चालक समिति अध्यक्ष धातानन्द भुसालले हर्ट विट एफ.एम. कुनै राजनितिक दलको ट्याग भिरेर अगाडि नबढेको र आवाज विहिनको आवाज लिएर अगाडि बढेको बताए । चौथो बर्ष पार गरि पाँचौ बर्षमा प्रवेश गरिरहदा सदैव साथ र सहयोग गर्ने पुर्व सञ्चालक समिति, बर्तमान कार्य समिति, शेयर सदस्य, कर्मचारी, लगायत सम्पुर्णमा आभार व्यक्त गरे । अध्यक्ष भुसालले यस संचारगृहमा कुनै पनि राजनितिक गन्ध आउन नदिएको दावि गर्दै राज्यको चौथो अंग सञ्चारमाध्यम रहेकाले पत्रकारीताको धर्म अनुसार संस्था सञ्चालन गरिरहेको बताए ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, उपाध्यक्ष हरि अधिकारी, कोषाध्यक्ष मोहन बेल्बासे, सशस्त्र प्रहरी पिपराका प्रमुख तेजराज शर्मा, जनम बेर्थी सामुदायिक वनका अध्यक्ष राम बहादुर चौधरी लगायतको आतिथ्यता, कार्यसमिति पदाधिकारी तथा सदस्य, शेयर सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको कार्यक्रम बरिष्ठ उपाध्यक्ष तुल्सी प्रसाद अर्यालको स्वागत मन्तब्य तथा महासचिव बिष्णु प्रसाद अर्याल र सहायक स्टेशन म्यानेजर हरि आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०७८ भाद्र २३, बुधबार १३:२८