
लुदस,
राष्ट्रिय जनमोर्चासहित ७ दलीय मोर्चाले कपिलवस्तुको तौलिहवामा एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रबार नारा जुलुस सहित तौलिहवा बजार परिक्रमा गर्दै बाल मन्दिरमा पुगेर सभामा परिणत भएको थियो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा भएको विरोध सभालाईले सम्बोधन गर्दै राजमोका युवा नेता शसी सापकोटाले सरकारको न्यूनतम संयुक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाको विरोधका कारण एमसीसी रोकिएको तर अहिले जबर्जस्ती लाद्न खोजिएकोले यसलाई रोक्न संघर्ष बाहेक कुनै विकल्प नभएको बताए ।
विरोध सभालाई नेकपाका केन्द्रीय सदस्य भेजराज भुसाल, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष ज्ञानीराम पुरी, नेकपा (मसाल)का जिल्ला प्रवक्ता छविलाल गैरे, नेकपा मालेका जिल्ला संयोजक ओम नारायण चतुर्वेदी, मानव अधिकारकर्मी राम दयाल ठाकुरले सम्बोधन गर्दै ‘यो देश वीरहरुले बलिदान दिएर बचाएको देश हो, नेपालीहरु शिर कहिलै झुकाउँदैनन्,’ भन्दै एमसीसी फिर्ता लैजान चेतावनी दिएका थिए । उनिहरुले जनताबाट निर्वाचित सांसदलाई राष्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर नगर्न आग्रह गर्दै, यदि गरेमा गाउँ गाउँबाट खेदिने समेत बताए ।
नेकपा कपिलवस्तुका जिल्ला सेक्रेटरी कमल केसीको सञ्चालन तथा राष्ट्रिय थारु मुक्ति मोर्चाका सुनिल चौधरीले स्वागत गर्नु भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेलको पनि आतिथ्यता रहेको थियो ।
अगामी भदौ २६ गते चनौटा र २७ गते जीतपुरमा विरोध प्रदर्शन गर्ने सात दलीय संघर्ष समितिले जानकारी दिएको छ ।

