
हरि आचार्य, कपिलवस्तु
उपभोक्ताको माग र आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढेको बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति प्रविधिसंगै अब नयाँ रणनिति ल्याएको छ । उक्त खानेपानी समितिले १९ घण्टा उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउदै आएको छ भने २४ सै घण्टा खानेपानी उपलब्ध गराउने रणनितिका साथ अगाडि बढेको समितिका अध्यक्ष विश्व कार्कीले बताए । समितिले बनाएका ठुला योजना आर्थिक बर्ष २०७९/८० भित्र सम्पन्न गरि उत्कृष्ट खानेपानीको रुपमा अगाडि पहिचान दिने उद्देश्यले अगाढि बढिरहेको ब्यबस्थापक अनिमा खरेलले बताईन् ।
संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना बुटवलसंग खानेपानीलाई संमृद्ध बनाउनका लागि ८६ लाख ७९ हजार ३ सय ९४ रुपिया ७४ पैसाको सम्झौता गरेको समितिले जनाएको छ । जसमा नेपाल सरकारबाट ७८ लाख ११ हजार ४ सय ५५ रुपिया २७ पैसा प्राप्त हुने र ८ लाख ६७ हजार ९ सय ३२ रुपिया ४७ पैसाको जनश्रमदान रहने अध्यक्ष कार्कीले जानकारी दिए ।
अबको २ बर्ष भित्र नन्दनगर र बैजलपुरमा साढे ४ लाख लिटरको क्षमता भएको ओभरहेड ट्यांकी निर्माण गरि उपभोक्तालाई सहज रुपमा खानेपानी प्रदान गर्ने महत्वपुर्ण योजना पनि बनाइएको छ । दुवै ठाउँमा १ सय केभीएको विद्युतीय ट्रान्सफर्मर निर्माण, उपभोक्ताको घरअगाडिको बाटोको दुवै किनारमा पाईप बिस्तार समेत गरिने भएको छ ।
त्यस्तै ओभरहेड ट्यांकीसंगै भवन, पालेघर, पानीको गुणस्तर मापन गर्ने प्रविधि, ल्याव निर्माण लगायतका कार्यहरु पनि गरिने छ । त्यस्तै सचिवालय, कर्मचारीको कार्यालय, सभा हल निर्माण गरि ई–ब्लकिङ गरि सुन्दरीकरणमा समेत जोड दिने योजना रहेको छ ।
उता हरेक चोकमा सार्वजनिक शौचालय निर्माण गरि खानेपानी मात्र नभई सरसफाईमा समेत जोड दिने योजना रहेकाले सबै योजना पुरा गर्नका लागि उपभोक्त समिति, कर्मचारी, उपभोक्ता सबैको साथ र सहयोग आवश्यक पर्ने समितिका अध्यक्ष कार्कीले बताएका छन् ।

