
तिलोत्तमा, २२ आश्विन
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा ४६ लाख ६ हजार ५ सय ६९ रुपैंया अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो ।
अनुदान कार्यक्रममा बोल्दै नगरप्रमुख बासुदेव घिमिरे किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत् विक्री गरिएको दुधको परिमाणअनुसार नगरपालिकाले हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको बताए ।
सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २१ वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानले अनुदान रकम प्राप्त गरेका छन् ।नगर प्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएको अनुदान रकम केही दिनभित्रैं किसानको हातसम्म पुर्याउन सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई आग्रह गरे ।
शुक्रबार १६ वटा सहकारीले अनुदान रकम बुझेका छन् भने बाँकी ५ वटा सहकारीले आवश्यक कागजात पुर्याएपछि रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।
नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले बार्यक्रममा उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुनेभएकोले नगरपालिकाले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको बताउँदै नगरपालिकाले किसानमुखी अन्य कार्यक्रम समेत सञ्चालन गरेको बताईन् ।
यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं। १४ स्थित गौतमबुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख ९४ हजार ६४५ रुपैंयाँ प्राप्त गरेको छ भने वडा नं। १४ कैं टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख ६६ हजार १०१ रुपैंयाँ, वडा नं। १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ५ हजार ९४४ रुपैंयाँ, वडा नं। ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ३ लाख ९ हजार ५७५ रुपैंयाँ प्राप्त गरेको छ ।
अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले जिल्लाका अन्य पालिकाले नगरेको काम तिलोत्तमाले गरेको भन्दै सोझै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैको लागि अनुकरणीय रहेको बताए ।शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर भण्डारीले किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए ।