
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा सञ्चालन गरिएको दशैं सस्तो बजार सकिएको छ । दशैंको घटस्थापनाबाट सुरु गरिएको दशैं लक्षित सस्तो बजार सोमबार सकिएको हो । दशैं सस्तो बजारमा करिव ११ हजार उपभोक्ता आएको र बजार भित्र सरदर ५१ लाखको कारोवार भएको दशैं सस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य कृष्ण श्रेष्ठ, कुलप्रसाद०ले जानकारी गराए ।
दशैं सस्तो बजार सकिएसंगै बजारमा सहभागि स्टल धनीलाई संघले सम्मान पत्र प्रदान गरेको छ । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, निवर्तमान अध्यक्ष खिमबहादुर हमाल सहितको टोलीले स्टल धनीलाई प्रशंसा पत्र प्रदान गर्दै संघको कार्यक्रममा सहयोग गरेकामा धन्यवाद ज्ञापन गरेका थिए ।
सस्तो बजारमा नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट सटही गरिएको थियो । दशैं सस्तो बजारमा ९२ लाख ५० हजार रुपैंया बराबरको नयाँ नोट सटही गरिएको संघले जनाएको छ । नयाँ नोट सटहीमा ग्लोबल आईएमई बैंकले सहयोग गरेको थियो । साल्ट ट्रेडिङ्, दुग्ध बिकास संस्थान सहितका ३० वटा स्टल राखिएको थियो ।