ब्याजदर घटाउँदै बैंक

[sharethis-inline-buttons]

काठमाडौं, कार्तिक ४

बैंक तथा वित्तीय संस्थाहरूले व्याजदर घटाउन सुरू गरेका छन् । अप्रत्यासित रूपमा मुद्दती तथा बचतको व्याजदर बढाएपछि नेपाल राष्ट्र बैंकको हस्तक्षेपपश्चात १४ बाणिज्य बैंक, वित्तीय संस्था र फाइनान्स कम्पनीले ब्याजदर घटाउन सुरू गरेका हुन् । ब्याजदर करिब १२ प्रतिशतसम्म पुर्‍याएपछि नेपाल राष्ट्र बैंकले मंगलबार साँझ एकीकृत निर्देशन २०७७ संशोधन गर्दै ब्याजदर वृद्धिको सीमा निर्धारण गरेको थियो ।

आक्रमकरूपमा ब्याजदर बढाएर निक्षेप खोसाखोसमा उत्रिएका बैंक तथा वित्तीय संस्थाको उद्देश्यमाथि राष्ट्र बैंकको निर्देशनले धक्का दिएको छ । असोजको ब्याजदरलाई आधार मानेर बढीमा १० प्रतिशत ब्याजदर वृद्धि गरी कात्तिकका लागि बैंक वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । संस्थागत मुद्दतीमा दिने ब्याजदर भन्दा सर्वसाधारणलाई मुद्दतीमा दिने ब्याजदरको अन्तर १ प्रतिशतमात्रै राखेर ब्याजदर परिमार्जन गरेका छन् ।

सानिमा र सिद्धार्थ बैंकले असोज महिनाका लागि सबैभन्दा धेरै ब्याजदर बढाएर ब्याजदर युद्दको सुरूआत गरेका थिए । असोजमा पर्याप्त मात्रामा निक्षेप संकलन भएपछि कात्तिकमा ब्याज घटाए ।

राष्ट्र बैंकको निर्देशनपछि ती बैंकहरूले ब्याजदरमा पुनस् समायोजन गरेका छन् । सानिमा बैंकले ३ महिने मुद्दतीमा सर्वसाधारणलाई ७।०६ प्रतिशत ६ महिनाभन्दा माथिको मुद्दतीमा ९।०६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दतीको ब्याजदर ८।०६ प्रतिशत कायम गरेको छ भने संस्थागत बोलकबोलमार्फत दिने ब्याजदर ७।७७ प्रतिशत निर्धारण गरेको छ । सानिमा बैंकले साधारणतर्फ ४।५ प्रतिशत ब्याजदर दिने भएको छ ।

सिद्धार्थ बैंकले साधारण बचततर्फ ४।४५ देखि ५।४५ सम्म ब्याजदर कायम गरेको छ भने मुद्दतीमा सर्वसाधारणका लागि ९।३६ र संस्थागत निक्षेपकर्ताका लागि ८।३६ प्रतिशत पुर्याएको छ । यसअघि सानिमा र सिदार्थ बैंकले ब्याजदर बढाएर मुद्दतीको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएका थिए ।

सानिमा र सिद्धार्थ बैंकको ब्याजदर वृद्धिको असर सबैभन्दा धेरै हिमालयन बैंक र एनआईसी एसिया बैंकलाई पर्‍यो । ती बैंकको निक्षेप खोसिएपछि हिमालयन बैंकले कात्तिकका लागि सबैभन्दा धेरै संस्थागत निक्षेपको ब्याजदर बढाएर करिब १२ प्रतिशतसम्म पुर्‍यायो भने एनआईसी एसियाले सबै प्रकारको मुद्दतीको ब्याजदर ११।१० प्रतिशत घोषणा गरेको थियो ।

एनआईसीले साधारण बचतको ब्यादजर समेत बढाएर ६।१० प्रतिशत पुर्‍यायो । कोभिड १९ का बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहँदा यस बैंकले साधारण बचतको ब्याजदर घटाएर करिब १।५ प्रतिशतमा पुर्‍याएको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशनपछि यस बैंकले ब्याजदर घटाएको छ । साधारण बचतको ब्याजदर ५ देखि ७ प्रतिशत पुर्‍याएको छ भने सबैप्रकारको मुद्दतीको ब्याजदर घटाएर ९।३६ प्रतिशत कायम गरेको छ । यसैगरी हिमालय बैंकले नयाँ ब्याजदरको विवरण आफ्नो वेवसाइटमा हालसम्म प्रकाशन गरेको छैन । नेपाल राष्ट्र बैंकको निर्देशनका कारण १४ वटा ब्याजदर बढाएका वाणिज्य बैंकहरूले आजैबाट लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्दैछन् ।

यसैगरी ग्लोबल आईएमई बैंकले साधारण बचततर्फ ४।५० ब्याजदर निर्धारण गरेको छ । मुद्दतीतर्फ ९।३६ प्रतिशत र संस्थागततर्फ बोलकबोलसहितको ब्याजजर ८।३६ प्रतिशत निर्धारण गरेको छ ।

बाणिज्य बैंकको सिको गर्दै ब्यादजर बढाउने विकास बैंक तथा फाइनान्स कम्पनीले पनि ब्याजदर घटाएका छन् । रिलायन्स फाइनान्स कम्पनी, सम्बृद्धि फाइनान्स कम्पनी, सांग्रिला बिकास बैंकले केन्द्रीय बैंकको निर्देशनअनुसार ब्याजदर घटाएका छन् ।


प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार १३:४७