एक सभापति, एक सहमहामन्त्री सहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ मंसिर २६, काठमाण्डौ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिमा मनोनयन दर्ता गराउनुभएका युवराज न्यौपानेले आज आइतवार आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

त्यस्तै सह–महामन्त्रीमा मनोनयन दर्ता गराउनुभएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उम्मेदवारले मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आज दिउँसो साढे १२ बजेसम्म निर्धारण गरिएको थियो ।

अहिलेसम्म सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिइसक्नुभएको छ भने अझै केहीको नाम फिर्ता हुन सक्ने बताइएको छ ।

महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने चार सय ९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको थियो । नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेको छ ।

यसअघि हिजो शनिवार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि बेलुका ५ बजेसम्म भएको थियो ।

 


प्रकाशित : २०७८ मंसिर २६, आईतवार १४:१४