भारतले दियो दुई कोरोना खोपलाई आपत्कालीन प्रयोग अनुमति

[sharethis-inline-buttons]

लुदअ पुस १९, काठमाण्डौ
भारतको औषधि नियामक निकायले कोभिड १९ विरुद्धका दुई वटा खोपलाई आपत्कालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित को–भ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको हो । ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया डीसीजीआई ले कोभिसिल्ड खोप ७० दशमलव ४२ प्रतिशत प्रभावकारी रहेको जनाएको भारतीय सञ्चार माध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

डीसीजीआईका निर्देशक डाक्टर बीजी सोमानीले को–भ्याक्सिन सुरक्षित रहेको र प्रतिरक्षा क्षमता बलियो बनाउन सक्षम रहेको बताएका छन् ।

यसअघि शुक्रबार ९अस्ति० सिरम इन्स्टिच्युटको कोभिशिल्ड खोपको लागि समेत यस्तै स्वीकृति दिइएको थियो । विज्ञ समूहले खोपको सुरक्षा र प्रतिरक्षाको तथ्याङ्क मूल्याङ्कन गरेर सार्वजनिक हितका लागि आपत्कालीन स्थितिमा प्रतिबन्धित उपयोगका लागि अनुमति दिन सिफारिस गरेको थियो । अन्य खोपको परीक्षण पनि जारी रहने बीबीसीमा उल्लेख छ ।

कोभिशिल्ड र को–भ्याकसिन दुवै खोप दुई खेपमा दिइनेछ । यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने छ । भारतमै कैडिला हेल्थ केयरको अर्को एउटा खोपलाई समेत तेस्रो चरणको मानव परीक्षणका लागि अनुमति दिइएको छ । भारतले यो वर्ष ३० करोड मानिसलाई खोप दिने योजना बनाएको छ ।


प्रकाशित : २०७७ पुष १९, आईतवार ०८:०५