नेपाल पत्रकार महासंघ कपिलवस्तुको १० औँ साधारण सभा सम्पन्न, ११ बुंदे घोषणा पत्र जारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु, पुस २८
नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला शाखा कपिलवस्तुको १० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तौलिहवामा सम्पन्न साधारण सभामा महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालले अहिले सम्मका कार्यहरु तथा आगामि कार्ययोजना, संस्थाका सचिव हरि अधिकारीले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दिपक खड्काले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोहि प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले देशमा राजनीतिक क्रान्ति सम्पन्न भैसकेको भन्दै अब शान्तिको बाटोमा हिड्नुपर्ने बताएका छन् । देशलाई तीव्र आर्थिक विकासमा लैजानु बाहेक अरु कुनै विकल्प नभएको भन्दै सबैले त्यतातिर ध्यान दिनुपर्नेमा नेता खनालले जोड दिए । खनालले अबको पत्रकारिताले समृद्धिको यात्रा तय गर्नुपर्ने बताए । अहिलेको राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै अब विकास केन्द्रित पत्रकारितामा जोड दिदैं मुलुकलाई समृद्धिको दिशामा लैजाने गरी कलम चलाउन उनले आग्रह गरे । मुलुकलाई सिंगापुर बनाउनेसम्मका सपना बाडेपनि पूरा हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै नेता खनालले भाषणमा मात्र समृद्धि भन्दापनि काम गरेर देखाउने बेला आएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, केन्द्रिय सदस्य बसन्त गिरी, बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिंदै स्वतन्त्र पत्रकारीता गरी पत्रकारीता क्षेत्रलाई गुणात्मक बनाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै जिल्ला अध्यक्ष डिलाराम भुसालले पत्रकार महासंघ कपिलवस्तु भौतिक रुपमा मजबुत भएकाले अब पत्रकारीतालाई गुणात्मक बनाउनुपर्ने बताए । उनले साधारण सदस्यको जिज्ञासाको जवाफ दिंदै कोरोना महामारीमा पनि जिल्लाका सञ्चारकर्मी सक्रियका साथ कार्य गरी समाजलाई सुशुचित बनाएको भन्दै धन्यवाद व्यक्त गरे ।

साधारण सभाले पत्रारीतालाई मर्यादित बनाउन, सञ्चारकर्मीलाई अझ सशक्त बनाई समाजलाई समृद्ध बनाउनका लागि ११ बुंदे घोषणा पत्र जारी गरेको छ ।
जिल्ला अध्यक्ष भुसालको अध्यक्षता, उपाध्यक्ष पार्वती पाण्डेको स्वागत मन्तब्य तथा सचिव हरि अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ पुष २८, मंगलवार १४:४६