धनगढी , बैशाख १४
जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ देखि लकडाउन गर्ने भएको छ । दोस्रो चरणको कोरोनाको संक्रमण फैलिएपछि कैलाली र कञ्चनपुरका अस्पतलमा मात्रै ६ जनाको मृत्यु भइसकेको छ । सहरी क्षेत्रमा लापरवाही गरेपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।भारतबाट आउनेलाई घर आउन रोक्न सकिदैन, तर सामान्य रुपमा भारत जानमा रोक लगाउने निर्णय गरिएको छ। ‘ अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि लकडाउन गर्नुपर्ने बाध्यता देखियो, १६ गते देखि एक हप्ताका लागि जिल्ला भरी लकडाउन गर्ने निर्णय गरेका छौं,’ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने ।
मंगलबार बसेको सर्वदलीय बैठकले पनि कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई लकडाउन गर्न सहमति दिएको थियो ।यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रीकालिन लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए । त्यो निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो ।
अहिलेसम्म कैलालीमा मात्रै सक्रिय संक्रमितको संख्या ८ सय नाघेको छ । कैलाली र कञ्चनपुरका अस्पतालमा गम्भीर प्रकृतिका बिरामी बढेपछि, आइसीयु भेन्टिलेटरको अभाव भएको छ । मानिस उपचार नपाएर छटपटिन थालेका छन् ।




















