
भैरहवा बैशाख,१४
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना संक्रमणको महामारीलाई मध्यनजर गर्दै जोखिम न्यूनिकरण गर्न सबै प्रकारका शैक्षिक गतिविधि बन्द गर्न निर्देशन दिएको छ । विद्यालयमा भौतिक रुपमा उपस्थित भएर कुनै पनि क्रियाकलाप नगर्न प्रशासनले दिएको निर्देशन गैडहवा गाउँपालिकाका संस्थागत विद्यालयहरुले उल्लंघन गरेका छन् । प्रशासनले दिएको निर्देशनलाइ नटेरी गैडहवाका संस्थागत विद्यालयहरुले कक्षा ८ र कक्षा १० को परीक्षा सञ्चालन रोकेका छैनन् । प्याब्सन गैडहवाको आन्तरिक निर्णय भन्दै विद्यालयहरुले बिद्यार्थीलाई विद्यालयमै बोलाएर परिक्षा सञ्चालन गरि रहदा अनुगमन गर्ने निकाय मौन रहेको छ ।
विद्यालयमै रहेकोअवस्थामा तिलोत्तमाको प्यारामाउण्ट बोर्डिङ्ग स्कूलमा छात्राको ज्यान गएपछि गम्भिर हुदै प्रशासनले सबै विद्यालयलाई शैक्षिक गतिविधि रोक्न निर्देशन गरेको थियो । निर्णय गरे पनि यसको कार्यान्वयन भने त्यत्ति प्रभावकारी देखिएको छैन । निर्णय मात्र गरेको र अनुगमन नगर्दा संस्थागत विद्यालयहरुले निर्वाध पठनपाठन सञ्चालन गरेका छन् ।
यस विषयमा गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेलाई बुझ्दा उनले गाउँ स्तरिय बिपद ब्यवस्थापन बैठकले पनि भौतिक उपस्थितिमा गरिने क्रियाकलाप नगर्न निर्णय गरेको जनाए । उनले अनुगमनको क्रममा केही संस्थागत विद्यालयहरुले विद्यालय खोलेको पाईएकोले विद्यार्थीलाई केही भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यालयले नै ब्यहोर्नु पर्ने गरि फेरी पत्राचार गरिएको बताए । यतिले पनि नमाने गाउँपालिकमै दर्ता रहेका विद्यालयहरुको दर्ता खारेजी सम्मको प्रक्रियामा गाउँपालिका पुग्ने उनले दावी गरे ।

