सरकारले मिति घोषणा नगरे पनि निर्वाचन आयोग चुनावको तयारीमा

[sharethis-inline-buttons]

लुदअ माघ २१, काठमाण्डौ
सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ ।

गएको मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको थियो । तर सरकारले औपचारिक रुपमा मिति घोषणा गरिसकेको छैन । केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तर, कतिपय काम मिति घोषणा भएपछि सुरु हुने उहाँले बताउनुभयो ।

स्थानीय तहको चुनावलाई लक्षित गरी आयोगले मतदाता सङ्कलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा अरु आवश्यक पूर्व तयारीका कामहरु निरन्तर गरिरहेको प्रवक्ता पौडलले जानकारी दिनुभयो ।

चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावली सङ्कलनको काम भइरहने पनि उहाँले बताउनुभयो । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीहरुको पदावधि आउँदो जेठ ५ गते सकिँदै छ ।


प्रकाशित : २०७८ माघ २१, शुक्रबार ०७:५०