हरि शर्मा
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतको मूल्य अझ सस्तो हुने बताएका छन् ।
पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यवस्तीमा निर्माण सम्पन्न भएको बुटवल–बर्दघाट २२० के.भी. प्रसारण लाईन तथा २२०÷१३२ के.भी. न्यू बुटवल सवस्टेशनको उद्घाटन कार्यक्रममा पुगेका उनले प्राधिकरण विगत ५ वर्षदेखि नाफामा रहेकाले सस्तो बनाउन कुनै समस्या नरहेको बताए । ‘ नेपालको विद्युत अहिले पनि महङो छैन् । अहिले १÷२ रुपैयाँ महङो तिर्दैमा केही हुन्न । त्यसको प्रतिफल पाइन्छ नै । ’ उनले भने ।
चौबिसै घण्टा विद्युत आपुर्तिका लागि लगानी चाहिने र त्यसका लागि समस्या पनि नरहेको उनले बताए । ‘विद्युतमा वार्षिक १० देखि १२ अर्ब रुपैयाँ लगानी गरेका छौं । अहिले ग्रामीण जनताले ३० रुपैयाँमा विद्युत उपभोग गरेका छन् । त्यसलाई अझ सस्तो बनाउने गरी लागेका छौं ।’ उनले भने ।
सुनवलको सूर्यवस्तीमा निर्माण भएको सवस्टेशनमा पुनः ३३ र ११ के.भी.को प्रसारण लाइन बनाउन लागिएकाले यहाँका उद्योग र स्थानीयले केही समयमा सर्वसुलभ विद्युत उपभोग गर्न पाउने उनले बताए ।
उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यहाँ सञ्चालनमा आएको सवस्टेशन नेपालमै विद्युतका लागि हवको रुपमा रहेको बताए । उनले यहाँबाट बुटवल–गोरखपुर अन्र्तदेशिय विद्युत आपुर्तिसमेत हुने बताए ।


















