लुदअ, लमजुङ
बाढी पहिरोको जोखिममा रहेको पहाडी जिल्ला हो लमजु्ङ । विशेषगरी बर्खाको समयमा बाढी पहिरोबाट जिल्लामा क्षति पुग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रका अनुसार मनसुनजन्य विपद्बाट गएको वर्ष जिल्लामा एक सय २० घरधुरीमा क्षति पुगेको थियो ।
तीमध्ये बाढी पहिरोबाट ८७ घरमा पूर्ण क्षति पुगेको थियो । ३३ घरमा आंशिक क्षति पुगेको थियो । गएको वर्षको बाढी पहिरोका कारण मस्र्याङ्दी करिडोर र दोर्दी करिडोरमा रहेको विभिन्न जलविद्युत् आयोजनामा पनि क्षति पुगेको थियो । सडक, बाटोघाटो, निजी लगानीमा सञ्चालित उद्योगका साथै सरकारी संरचनामा समेत क्षति पुगेको थियो ।

यसैगरी २०७७ सालमा बाढी पहिरोका कारण मस्र्याङ्दी गाउँपालिका क्षेत्रमा ७४ घरधुरीमा क्षति पुगेको थियो । ती घरको अहिले पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माणका लागि सङ्घ सरकारले प्रति प्रभावित घरधुरीलाई जग्गा खरिदमा तीन लाख र घर निर्माणका लागि चार लाख रुपैयाँ उपलब्ध गराएको मिश्रले बताउनुभयो ।
उहाँका अनुसार मस्र्याङ्दी गाउँपालिका क्षेत्रका प्रभावितहरू नीजि आवास पुनर्निर्माणको दोस्रो किस्ता लिने प्रक्रियामा छन् । २०७७ सालमा बाढी पहिरोबाट क्षति पुगेका अन्य पालिकामा घर पुननिर्माणको प्रक्रिया अघि बढेको छ ।

विपद्पछि तत्कालै दिने राहतह प्रशासनले वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । ‘तत्काल दिने राहत प्रशासनबाट वितरण भइरहेको छ । कतिपयले घर पुननिर्माणको माग गरिरहनुभएको छ । विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणबाट पैसा आउँछ । त्यसका लागि मोबाइल एपमा फाराम भरी पठाउनुपर्छ । त्यो फाराम नपुगेकाले रकम आएको छैन,’ उहाँले भन्नुभयो, ‘पालिकाले मोबाइल एपमा अनलाइन इन्ट्री गरेपछि पुनिर्निर्माणको लागि प्राधिकरणबाट रकम आउँछ । त्यो प्रक्रियामा छ ।’
विपद्को जोखिम, सतर्कता अपनाउन सुझाव
बर्सेनि जिल्लामा मनसुनजन्य विपद्बाट धेरै नै क्षति हुने गरेको छ । यस वर्ष पनि तुलनात्मक रूपमा धेरै पानी पर्ने र बाढी पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ । जिल्लामा सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय गरी विपद् तयारी प्रतिकार्य योजना बनाइ अघि बढिएको प्रजिअ वैद्यले बताउनुभयो ।




















