शिन्जाे आबे : जापानी ‘जनताका राजकुमार’

[sharethis-inline-buttons]

लुदअ, जापान
जापानका लोकप्रिय नेता शिन्जो आबेको हिजो गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आबे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता हुनुहुन्थ्यो ।

दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाउनु भएका आबेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिनु भएको थियो ।

आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उहाँले आफ्नो जिम्मेवारीप्रति इमानदार हुँदै राजीनामा दिनु भएको थियो । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गर्नु भएका लिवरल डेमोक्रेटिक पार्टीका नेता आबेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै बिदा लिनु परेको छ ।

भोलि हुने माथिल्लो सदनको चुनावका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला एक व्यक्तिको गोली प्रहारबाट उहाँको निधन भएको हो ।

सन् १९५४ मा जन्मिनु भएका आबेको ६७ वर्षको उमेरमा निधन भएको हो । उहाँले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गर्नु भएको थियो । त्यसपछि उहाँले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गर्नुभएको थियो ।

राजनीतिमा भने उहाँ सन् १९८२ मा तत्कालीन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गर्नु भएको थियो । उहाँ सन् १९९३ देखि निरन्तर नौ पटक सांसद हुनुभएको थियो ।

उहाँले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गर्नु भएको थियो भने सरकारी भूमिकामा मन्त्रिपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गर्नु भएको थियो । मन्त्रिपरिषदमा भने २००५ मा उहाँले पहिलो पटक सहभागी हुने मौका पाउनु भएको थियो ।

 


प्रकाशित : २०७९ असार २५, शनिबार ०७:४७