लुदअ ५ साउन, चितवन
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङे गैंडाको मृत्युदर बढ्दै गएको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा ३७ वटा गैंडा मरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ३२ गैंडा मरेको तथ्यांकमा उल्लेख छ ।
प्राकृतिक मत्युदर सँगसँगै केही वर्षअघि रोकिएको गैंडाको चोरीसिकारीलेसमेत गैंडा मर्न थालेको पाइएको छ । निकुञ्जको आफ्नो संयन्त्र चोरी सिकारी नियन्त्रण गरेर ‘जिरो पोचिङ’को अवस्थामा फर्काउन सकेको छैन । गत वर्ष मृत्यु भएका ३७ वटा गैंडामध्ये २ वटालाई चोरी सिकारीले मारेको निकुञ्जले उल्लेख गरेको छ ।
निकुञ्जले सार्वजनिक गरेको तथ्यांकमा गत मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं। १६ मा करेन्ट लागेर मरेको गैंडाको संख्या जोडिएको छैन । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार गैंडा मारेको पुष्टि भए पनि कसले करेन्ट लगाएर मारेको हो भनेर अनुसन्धानबाट पत्ता लगाउन नसकिएको बताउँछन् । निकुञ्ज क्षेत्रमा मारिएका दुई गैंडा मध्ये एकको खाग र खुर नै काटेर लगेको भेटिएको थियो भने अर्कोको खाग र खुर नै भेटिएको थियो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरी सिकारीबाट गैंडाको मृत्यु अघिल्लो वर्षभन्दा कम भएको तर प्राकृतिक मृत्युदर बढेको बताए । गैंडाको संख्या धेरै हुँदा मृत्युदर बढ्नु स्वाभाविक देखिने उनको भनाइ छ । भाले गैंडाको स्वभाव अर्को भाले देखेपछि जुध्ने र मृत्यु हुने अवस्थासम्म पुग्ने गरेको उनले बताए ।
कहाँ, कहिले, कसरी मरे गैंडा ?
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गएको साउनदेखि गत असार ३० गतेसम्म मध्यवर्ती क्षेत्र र निकुञ्ज भित्र ३७ वटा गैंडा मरेका छन् । गैंडाहरू दलदलमा भासिएर, बुढो भएर, खोलाले बगाएर, आपसमा जुधेर र माउसँग छुट्टिंदा बाघले खाएर मृत्यु भएका छन् ।
निकुञ्जको तथ्यांक अनुसार २ गैंडा चोरी सिकारीबाट, ६ गैंडा बाघको आक्रमणबाट, ८ वटा गैंडा जुधेर, ७ गैंडा दलदलमा भासिएर, २ गैंडा बाढीले बगाएर, १ गैंडा खाडलमा परेर मृत्यु भएको छ । अन्य मृत्युलाई निकुञ्जले प्राकृतिक मृत्यु भनेर उल्लेख गरेको छ ।
निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम बढेसँगै निकुञ्ज भित्रसमेत बाघले गैंडाका ५ वर्षभन्दा कम उमेरका गैंडाको बच्चालाई मारेको पाइएको छ । मृत्यु हुनेमध्ये १८ वटा भाले, १४ वटा पोथी र ५ वटा लिंग पहिचान नभएका छन् । निकुञ्जका अनुसार गत वर्षको साउन ११ गते ४ घाँगर क्षेत्रमा लिंग र उमेर पहिचान नभएको एउटा र असोज ११ गते धोबा क्षेत्रमा २८ वर्षको पोथी गैंडाको चोरी–सिकारीबाट मृत्यु भएको थियो । २० वर्षभन्दा बढी उमेर भएका १६ गैंडाहरू मरेका छन् ।
गत माघ ९ गते वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट निस्किएको १२ वर्षे वयस्क भाले गैंडाको पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि बनाइएको नालीको खाल्डोमा परेर मृत्यु भएको थियो । सो गैंडाको मृत्यु भएपछि वन मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा।राजेन्द्र केसीको संयोजकत्वमा छानबिन समिति बनाएर प्रतिवेदन तयार गरे पनि घटनाका दोषीहरुमाथि कारबाही भएको छैन । निकुञ्जको बेवास्ता र निर्माण ठेकेदार कम्पनीको लापरबाहीबाट १२ वर्षको वयस्क भाले गैंडाको मृत्यु भएको थियो । सडक निर्माण गर्ने ठेकदारलाई निकुञ्जले पक्राउ पुर्जी जारी गरे पनि उनी पक्राउ परेनन् ।
सूचना लुकाउँछ निकुञ्ज
निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष ०७३र७४ मा २५, ०७४र७५ मा २६, ०७५र७६ मा ४३, ०७६र७७ मा २६, ०७७र७८ मा ३२ गैंडा मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार हाल ६९४ वटा गैंडा छन् ।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख भएर हरिभद्र आचार्य आएपछि निकुञ्ज भित्र गैंडा मृत्यु भएका घटना सूचनाहरू लुकाउन थालिएका छन् । निकुञ्जले गैंडा मरेको घटनाको जानकारी सार्वजनिक रूपमा दिने गरेको भए पनि आचार्यले निकुञ्जको नेतृत्व लिएपछि गैंडा मरेको सूचना दिन छाडिएको छ । गएको वैशाख ४ र ६ गते तथा असार १९ र ३० गते मरेका गैंडाको सूचना निकुञ्जले असार सकिएपछि मात्रै सार्वजनिक गरेको थियो । यसअघि, गत पुसमा मरेका गैंडाको विवरण पनि निकुञ्जले दिएको थिएन ।
पुस १ गते नै निकुञ्जको टाइगर टप्स क्षेत्रमा पर्ने भिम्ली भन्ने ठाउँमा र पुस ३ गते निकुञ्जको नवलपरासी अमलटारी क्षेत्रको आइल्याण्ड क्षेत्रमा पोथी गैंडा मृत फेला परेको सूचना निकुञ्जले दिएको थिएन ।




















