लुदअ भदौ ११, काठमाण्डौ
आज कुशे औँसी । कुशे औँसीको दिनलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।
आज आफ्ना बुबालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बुबा जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।
काठमाण्डौको गोकर्णमा बिहानैदेखि श्राद्ध तथा तर्पणगर्नेको घुइँचो छ । उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले मातृकूल, पितृकूल, बन्धु–ससुराली कूलादि सय कूलको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ ।
गोकर्णमा श्राद्ध गर्नु भारतको कासी गयामा श्राद्ध गर्नुसरह फल मिल्ने विश्वास पनि गरिन्छ । आज सनातन वैदिक हिन्दु धर्मावलम्बीले वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गरिन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
आजै नेपाली साहित्यका युगकवी मोतीराम भट्टको १५२औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विक्रम संवत् १९२३ साल भाद्र कृष्ण औँसी अर्थात कुशे औँसीका दिन जन्मिएका मोतीरामको विक्रम संवत् १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो भने नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । नेपाली भाषामा गजलको सुरुवात पनि मोतीरामले नै गरेको मानिन्छ।
किन हेर्ने पिताको मुख
पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः ।
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।।
पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च ।
तस्य भागीरथीस्नानमहन्यहनि वर्तते ।।
अर्थात् स् पिता भनेका धर्म हुन्, पिता स्वर्ग हुन् र पिता नै सबैभन्दा श्रेष्ठ तपस्या हुन् । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन् । जुन सन्तानको सेवा र सद्गुणबाट पिता सन्तुष्ट रहन्छन्, त्यस सन्तानलाई प्रतिदिन गंगास्नान गरेको पुण्य प्राप्त हुन्छ ।उल्लिखित श्लोक जीवनमा पिताको कस्तो महत्व छ भन्ने प्रस्ट्याउन पर्याप्त छ ।
आँखामा आँसु नदेखाई, थकाइ, पीडा र आफ्नो आवश्यकतालाई तिलाञ्जली दिँंदै ओठमा हाँसो देखाउन सक्ने उदार छाती पितासँग मात्रै हुन्छ । हामी आमालाई पृथ्वीसँग तुलना गर्छौं भने पितालाई आकाशसँग । सन्तानका संरक्षक पालनकर्ता हुन् पिता । यसो भन्दा आमा सन्तानकी संरक्षक होइनन् भनेको वा आमाको महत्व कम छ भनेको अर्थ नलगाइयोस् । आमाको तुलना कसैसँग हुन सक्दैन । सामान्यतया पिता भन्नाले हामी जन्मदातालाई सम्झन्छौँ । तर, पिता शब्दले व्यापक अर्थ बुझाउँछ ।
‘विद्यादाता, जन्मदाता, कन्यादाता तथैव च,
अन्नदाता, भयत्राता पञ्चैते पितर स्मृताः ।’
अर्थात् विद्या दिने गुरु, जन्म दिने पिता, कन्या दिने ससुरा, अन्न दिने कृषक वा पालनपोषण गर्ने र त्रासबाट रक्षा गर्ने पाँच व्यक्तिलाई पञ्चपिताका रूपमा लिइन्छ । यस्तै, हाम्रो धर्म, संस्कृति र परम्पराले बाबुका दाजु–भाइ तथा हजुरबुबालाई पनि बाबुसरह नै पूज्य मानेका छन् । महाभारतको वनपर्वमा यक्ष–युधिष्ठिर संवादको क्रममा ‘।।।पिता चोच्चतरं च खात्’ भनेर पितालाई आकाशभन्दा विशाल भनिएको छ ।
अर्थात् पिताको हृदयाकाशमा आफ्ना सन्तानका लागि जुन असीम माया हुन्छ, त्यसको वर्णन गर्न सकिन्न । पिता र सन्तानबीच कति प्रेम, स्नेह, मोह वा त्यागको भावना हुन्छ भन्ने आज्ञाकारी पुत्र श्रवणकुमार तथा राम–लक्ष्मणको वियोगमा उनीहरूका पिताले प्राण त्यागेका र पिताको सुखका खातिर आफू आजीवन अविवाहित रहने र राजगद्दीमा दाबी नगर्ने भीष्म प्रतिज्ञा गरेका देवव्रतलगायत पौराणिक उदाहरणबाट पनि बुझ्न सकिन्छ ।
हामीले देवता देखेका छैनौँ, तैपनि हामी आपत्–विपत् आइपर्दा रक्षार्थ र सहयोगार्थ देवतालाई नै पुकार्छौं । हाम्रा हरेक बाधा व्यवधान फुकाइदिने र हरेक आवश्यकता पूरा गर्ने पितालाई भने हरक्षण भुल्छौँ । वास्तवमा पिता हाम्रा लागि साक्षात् देवतातुल्य स्तूत्य हुन्छन् । अर्थात् ‘सर्वदेवमयः पिता ।




















