
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाको गठित स्थानीय भु–उपयोग कार्यान्वयन समितिको बैठक सम्पन्न भएको छ । मेयर चक्रपाणि अर्यालको संयोजकत्वमा रहेको उक्त समितिको बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ । संयोजक अर्यालको अध्यक्षतामा सम्पन्न बैठकले सचिवालयले तयार पारेको दस्तावेज प्रस्ताव माथि छलफल तथा कार्यान्वयन समितिले सुझाव संकलन गरेको नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै बैठकले यहि भदौ २२ गते बाट वडास्तरमा गएर सरोकारवालाहरुसंग सुझाव संकलन गर्ने निर्णय गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।
स्थानिय सरकार ऐन २०७४ को दफा १०२ र भूउपयोग ऐन, २०७६ को दफा ३३ ले दिएको अधिकार प्रयोग गरि बाणगंगा नगरपालिकामा यो कार्यबिधि तर्जुमा गरि जारी गरिएको छ । यहि कार्यबिधि र ऐन, संविधानमा भएका ब्यवस्थाका बारेमा सरोकारवालाहरुमा बिचमा छलफल गर्दै कार्यबिधिलाई संशोधन गर्दै अघि बढ्ने निर्णय भएको छ । भूउपयोग कार्यक्रम आफैमा नया बिषय र नेपालमा पहिलो पटक कार्यान्वयनमा आउने भएकोले यस बिषयमा समस्त जग्गाधनी लगायत सरोकारवालाहरूको सहभागिता आवश्यक देखिएको बाणगंगा नगरपालिका मेयर चक्रपाणि अर्यालले बताउनुभएको छ । भूउपयोग नीति, ऐन र नियमावलीको प्रभावकारी कार्यान्वयनमा सबैको साथ सहयोग र सहकार्य आवश्यक रहेको नगरकी उपप्रमुख रिता कुमारी चौधरीले बताउनुभयो ।
छलफलमा जिल्लाका मालपोत अधिकृत ऋषिराम पौडेल, जिल्ला नापि अधिकृत सुवास न्यौपाने, ईन्जिनियर सुनिल श्रेठ र सर्वेक्षक आदित्य खनालले सहजिकरण गर्नुभएको थियो । भूमीलाइ भु–बनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताको आधारमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र,सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र, र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र गरि १० वटा भूउपयोग क्षेत्रमा बर्गीकरण गरिने छ । यिनै आधारलाई मान्दै नगरपालिकाले नगरका बिभिन्न वडा र क्षेत्रमा रहेका भूमि र ति ठाउको बिशेषताका आधारमा बर्गीकरण गरिने छ ।
कार्यक्रममा नगरका प्रमुख प्रशासयिक अधिकृत खिमानन्द भूषालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगरका शिक्षा शाखा प्रमुख खिम बहादुर जिशीले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कार्यबिधि कार्यान्वयन समितिका सदस्यहरु, कर्मचारीहरु लगाएतको उपस्थिती रहेको थियो ।

