लुम्बिनीका पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धन अभियानमा पर्यटन विकास परिषद्

[sharethis-inline-buttons]

लुदअ, बुटवल
पर्यटन विकास परिषद् लुम्बिनीले लुम्बिनीको पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धनका लागि अभियान सुरु गरेको छ । अभियान अन्तर्गत प्रदेशको पर्यटन विकासको लागि प्रदेशभित्र रहेका १२ वटा जिल्लाका पर्यटकीय स्थलको पहिचान गरी स्थानीय सरकारसँग पनि सहकार्य गरेर ती स्थलको प्रवर्द्धन गरिने परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताए ।

अभियान अन्तर्गत परिषद्ले पहिलो चरणमा हालै गुल्मी र अर्घखाँचीमा तीन दिने अवलोकन भ्रमण गरेको छ । भ्रमणमा परिषद्ले स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीसहित सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल गरेको निर्देशक जोशीले बताए ।

भ्रमणमा गुल्मीको रिडीस्थित तीन मुखे झोलुङ्गे पुल,तपोभूमि रेसुङ्गा, विचित्र गुफा र अर्घाखाँचीको नरपानी, सुपा देउराली, खाँचीकोट लगाएतका पर्यटकीय स्थलको अवलोकन गरेको हो । अवलोकनसँगै परिषद्ले स्थानीय तथा सरोकारवालासँग ती स्थानका बारे जानकारी लिएको परिषद्का सदस्य हरिप्रसाद पोख्रेलले बताए ।

लुम्बिनी पर्यटकीय दृष्टिकोणले अथाह सम्भावना रहेको बताउँदै गुल्मी र अर्घाखाँचीमा पनि बाह्य पर्यटक भित्राउन सरोकारवालाले पहल गर्नुपर्ने आवश्यकता रहेको परिषद्का कार्यकारी निर्देशक जोशीले बताए ।

रुपन्देहीका करिब दर्जन पत्रकारसहित पर्यटकीय भ्रमण गरेको परिषद्ले गुल्मीको रुरु गाउँपालिका र रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधिहरुसँग त्यहाँको पर्यटकीय अवस्था बारे जानकारी लिएको थियो । साथै परिषद्ले गुल्मीका पत्रकार तथा पर्यटन व्यवसायीहरुसँग पनि छलफल गरेको थियो ।


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार ०७:०८