
लुदअ, कपिलवस्तु
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी जिल्ला सुरक्षा समिति कपिलवस्तुले जिल्लाका मतदानस्थलको सुरक्षा स्तरीकरण गरेको छ । जिल्लाका २ सय ३४ मतदानस्थलमध्ये २८ वटा मतदान स्थललाई अति संवेदनशील क्षेत्रमा राखिएको छ ।
जिल्लामा एक सय ७ वटा मतदानस्थल संवेदनशील र ९९ मतदानस्थललाई सामान्य मानिएको सुरक्षा समिति कपिलवस्तुका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले जानकारी दिए ।
प्रजिअ मिश्रले अति संवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको बताउँदै भने– ’निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउनका लागि सुरक्षाको दृष्टिकोणबाट कुनै कमी हुन दिइने छैन ।’
६ वटा नगरपालिका र चारवटा गाउँपालिका रहेको कपिलवस्तुमा सिमा नजिकको अवस्था र यसअघिका निर्वाचन सुरक्षा अवस्थालाई आधार मानेर मतदानस्थलको सुरक्षा स्तरीकरण गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सुचना अधिकारी अनिता क्षेत्रीका अनुसार जिल्लामा २ सय ३४ मतदानस्थल र ४ सय ७२ वटा मतदान केन्द्र छन् । जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ मतदाता छन् ।
निर्वाचन सुरक्षार्थ म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिदैछन् । जिल्लामा २ हजार ४ सय बढी म्यादी प्रहरी खटिदैछन् ।
सुरक्षा समितिले सबै मतदानस्थलको अनुगमन गरी सुरक्षा व्यवस्थालाई कडाइ गर्ने जनाएको छ ।