
नेपाली कांग्रेस रूपन्देहीका पुराना नेता रोमणी पाठकको आज बिहान निधन भएको छ। लामो समयदेखि क्यान्सरका कारण बिरामी रहनुभएका पाठकको बिहान रूपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा निधन भएको हो। उहाँको अहिले मणिग्राम नजिकै तिनाउ घाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बताउनुभयो। उहाँका अनुसार स्वर्गीय पाठक लोकतान्त्रिक आन्दोलनसँगै नेपाली कांग्रेसमा जति सक्रिय हुनुहुन्थ्यो त्योभन्दा बढी सामाजिक संघसंस्थाहरू मार्फत सामाजिक योगदानमा उत्तिकै क्रियाशील हुनुहुन्थ्यो ।
मणिग्राम स्थित सरस्वती संस्कृत क्याम्पसका संस्थापक अध्यक्ष पाठक राममणि बहुमुखी क्याम्पसको पनि संस्थापक हुँदै पछि अध्यक्ष समेत हुनुभएको थियो। रूपन्देहीका धेरै सामाजिक काममा अग्रणी भूमिका निर्वाह गर्नुभएका पाठकलाई यस क्षेत्रका सबैले निस्वार्थ, निष्ठावान, सहयोगी अगुवाको रुपमा चिन्ने गरेका छन्। उहाँको निधनले रूपन्देहीवासी र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको बताउँदै मेयर पाण्डेले दुःख व्यक्त गर्नुभयो। नेता पाठकको निधनपछि आफूहरूले एउटा भरोसायोग्य र सल्लाह लिइरहने अभिभावक गुमाएको पनि उहाँले उल्लेख गर्नुभयो।
नेपाली कांग्रेसका महासमिति सदस्य पाठकको पार्थिव शरीरमा कांग्रेस नेता तथा पूर्व सांसद भरत शाह,कांग्रेस जिल्ला सभापति एवं तिलोत्तमाका मेयर रामकृष्ण खांण बुटवल नग सभापति एवं बुटवल उपमहानगरपालिकाका मेयर पाण्डेय लगायतले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिँदै अन्तिम विदाई गर्नुभएको छ। स्याङ्जाको गल्याङ नगरपालिकामा पर्ने चोकमा विसं २०१२ पुस २३ गते जन्मनुभएका पाठकका श्रीमती, दुई छोरा र एक छोरी छन्। उहाँको निधन प्रति नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, उहाँका शुभेच्छुक तथा इष्टमित्र र रुपन्देहीबासीले गहिरो दुःख व्यक्त गरेका छन्।


प्रकाशित : २०८१ पुष ५, शुक्रबार १३:४९