
सुनचाँदी पसलमा नक्कली गहना ९तिलहरी० धितो राखेर लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा रामेछापकी दिलमाया मगरलाई प्रहरीले पक्राउ गरेको छ। ४२ वर्षीया मगर रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ स्थायी बासिन्दा हुन् र हाल भक्तपुरमा बसोबास गर्दै आएकी छिन्। उनले बुद्धनगरस्थित सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखी ११ लाख रुपैयाँ ठगेको आरोप लागेको छ।
असार १५ गते उनी अर्को पसलमा गहना धितो राख्न पुगेको बेला पसल सञ्चालकले शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा दिलमाया मगरले आफूलाई ‘प्रहरी हुँ’ भन्दै प्रहरी सहायक निरीक्षक ९असई० को तस्बिर देखाएर व्यवसायीहरूलाई त्रास दिने गरेको खुल्न आएको छ। काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराका अनुसार, उनीसँग भएको मोबाइलमा असईको पोशाकमा खिचिएको तस्बिरसमेत फेला परेको छ।
उनविरुद्ध हाल ठगी मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ। प्रहरीले अन्य सम्भावित पीडितहरू पनि भए सम्पर्क गर्न आग्रह गरेको छ।