पूर्णचन्द्र परियार, जितपुर
कपिलवस्तु लगाएत ,बाणगंगाको शिक्षा क्षेत्रमा एक नयाँ उत्साह थप्दै, आवर विज्डम आवासीय माध्यमिक विद्यालयले हालै सार्वजनिक एसईई परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका आफ्ना विद्यार्थीहरुलाई भव्य सम्मानका साथ बधाइ प्रदान गरेको छ। शनिबार बिहान विद्यालय परिसरमा आयोजित विशेष समारोहले विद्यार्थी, अभिभावक र स्थानीय प्रतिनिधिहरुको मन जित्न सफल भयो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बाणगंगा नगरपालिकाको शैक्षिक उचाइ पछिल्ला वर्षहरुमा निकै माथि गएको उल्लेख गर्दै, “अबको चुनौती अझ राम्रो शैक्षिक पूर्वाधार र गुणस्तरीय शिक्षालाई दीर्घकालीन रूपमा संस्थागत बनाउनु हो,” भन्ने धारणा व्यक्त गरे।
नगर प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष विष्णु प्रसाद पौडेलले पनि शैक्षिक रणनीतिमा नगरपालिकाले लिएको दृढ दृष्टिकोणबारे चर्चा गर्दै भने, “अब हाम्रा विद्यार्थीहरु उच्च शिक्षाका लागि अन्यत्र जानुपर्ने अवस्था छैन, बाणगंगाका विद्यालयहरुकै शैक्षिक स्तर देशमै प्रतिस्पर्धात्मक भइसकेका छन्।”
कार्यक्रममा विद्यालयका संस्थापक डोलकराम घिमिरे, अभिभावक प्रतिनिधिहरू पूर्णचन्द्र परियार, बुद्धिसागर बेल्वासे र मनोज पौडेल लगायतले विद्यार्थीहरुलाई उज्वल भविष्यको शुभकामना दिएका थिए।
विद्यालय संचालक समितिका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षता, प्रमुख अतिथि विष्णु पन्थीको आतिथ्यता, स्वागत मन्तव्य शिक्षक कमला शर्मा तथा संचालन मावि संयोजक ताराप्रसाद पाण्डेले गरेका थिए।
विद्यालयका प्राचार्य नारायण शर्माले यो वर्षको एसईई परीक्षामा ३२ मध्ये ३० जना विद्यार्थी उत्तीर्ण हुन सफल भएको र यो उपलब्धि विद्यालयको शैक्षिक तथा भौतिक सुधार प्रयासको प्रतिफल भएको बताए। “हामीले शिक्षालाई केवल पाठ्यक्रममा सीमित नराखी समग्र विकासतर्फ उन्मुख बनाउँदै लगिरहेका छौं,” उनले भने।
सफल विद्यार्थीहरुलाई ट्रफी, प्रमाणपत्र तथा विभिन्न प्रेरणादायक पुरस्कारद्वारा सम्मान गरिएको यस कार्यक्रममा बाणगंगाको शैक्षिक भविष्यको उज्यालो झल्किएको देखिन्थ्यो। यस विद्यालयले देखाएको समर्पण र प्रतिबद्धता नगरको समग्र शैक्षिक धरातलको मापन गर्ने सूचक बन्न पुगेको छ।






















