इरानले भग्नावशेषमा पुरिएको परिष्कृत युरेनियम बाहिर निकाल्न सक्ने इजरायलका एक वरिष्ठ अधिकारीले बताएका छन् । अमेरिकी बम आक्रमणबाट इरानको एउटा आणविक केन्द्रको गहिराइमा परिष्कृत युरेनियम पुरिएको छ ।
अमेरिकाले इरानका तीन आणविक केन्द्रमा आक्रमण गरेको थियो । अरू दुई आणविक केन्द्रमा खसालिएका अमेरिकी ‘बंकर बस्टर’ बमहरू आफ्नो लक्ष्यमा पुगे/नपुगेको निर्धारण गर्न अझै तथ्यांकको प्रतीक्षा गरिरहेको बम बनाउने एजेन्सीले बिहीबार जनाएको छ ।
यी दुवै घटनाक्रमले गएको महिना गरिएको आक्रमणको क्षतिबारे दृष्टिकोणलाई फराकिलो बनाएको समाचारमा उल्लेख छ ।
आणविक हतियार बनाउने इरानको खतरा हटाउन इजरायलको युद्धमा अमेरिकाले हस्तक्षेप गरेको थियो । इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण रहेको जिकिर गरेको छ ।
इरानको अधिकांश परिष्कृत युरेनियम इस्फहान आणविक केन्द्रको गहिराइमा पुरिएको हुन सक्ने ती इजरायली अधिकारीले बताए ।
अमेरिकाले फोर्डो र नटान्ज केन्द्रलाई निसाना बनाउन बी–२ स्टिल्थ बमवर्षक प्रयोग गरेको थियो ।
इरानको समृद्ध युरेनियम तीन आणविक केन्द्रमा रहेको र त्यसलाई अन्यत्र नसारिएको इजरायलले विश्वास गरेको ती अधिकारीले बताए ।
इस्फहानमा रहेको परिष्कृत युरेनियम इरानीले सम्भवतः निकाल्न सक्छन् । तर, त्यसमा पुग्न निकै कठिन हुने र पुनः प्राप्तिका निम्ति अथक प्रयास आवश्यक पर्ने इजरायली अधिकारीको भनाइ छ ।





















