नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा लोडसेडिङ अन्त्य र जलविद्युत् क्षेत्रमा निजी लगानी भित्र्याउन कांग्रेसको ठूलो भूमिका रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित इप्पानको २३औँ वार्षिक साधारणसभामा देउवाले तत्कालीन जलस्रोतमन्त्री स्वर्गीय शैलजा आचार्यको पहलमा निजी क्षेत्र अर्बौं लगानी गर्न तयार भएको स्मरण गरे । “शैलजा आचार्यकै कारण निजी लगानीकर्ताले वातावरण पाए, लगानीको वातावरण बन्यो,” देउवाले भने ।
उनले निजी क्षेत्रले बिजुली उत्पादन गरेकाले देश लोडसेडिङमुक्त भएको पनि बताए । उनले आफू प्रधानमन्त्री हुँदा पहिलोपटक ३९ मेगावाट विद्युत् भारत निर्यात भएको पनि उल्लेख गरे । “हाम्रो पालामा नै विद्युत् निर्यात सुरु भएको हो । अब निजी क्षेत्रलाई पनि व्यापारमा सहभागी गराउन जरुरी छ,” उनले भने ।
उनले जलविद्युत् क्षेत्रमा प्रमुख समस्याका रूपमा रहेको वनको विषय, सेयर निष्कासन प्रक्रियालगायत अवरोध समाधान गर्नुपर्ने बताए ।
“वनको समस्या समाधान गर्न सजिलो छैन, अन्तर्राष्ट्रिय कानुनको पर्खाल छ,” देउवाले भने । तर, पनि सरकार र निजी क्षेत्र मिलेर समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
“हामीलाई प्रकृतिले दिएको उपहार, पानीलाई जति सक्दो प्रयोग गरेर बिजुली उत्पादन गर्न सकियो भने भारतमा बिक्री गरेर देश समृद्ध बनाउन सकिन्छ,” देउवाले भने ।





















