लुदस, जीतपुर ।
कपिलवस्तुको पहिचान, संस्कृति र समृद्धिको प्रतीकका रूपमा स्थापित कपिलवस्तु महोत्सव आफ्नो १६औँ संस्करणमा प्रवेश गर्न लागेको छ। बाणगंगा वेलफेयर सोसाइटीको संयोजनमा हुने १६औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ आगामी मंसिर १८ गतेदेखि पुष १ गतेसम्म भव्य रूपमा आयोजना हुने भएको हो।
महोत्सवको औपचारिक घोषणा गर्दै वेलफेयर सोसाइटीका अध्यक्ष तथा चर्चित समाजसेवी राजकुमार खाँणले महोत्सवलाई व्यक्तिगत, संस्थागत वा राजनीतिक स्वार्थभन्दा माथि राखेर कपिलवस्तुको एकता, पहिचान र समृद्धिको अभियानका रूपमा अगाडि बढाइने बताएका छन्।
‘रेसलिङ्ग, हेलिकप्टर सयर र पुष्पवर्षा’ सहित इतिहासमै नौलो अनुभव ल्याएको वेयलफेयरले
यस वर्षको महोत्सवमा अघिल्ला संस्करणहरुभन्दा अझ नविनता र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको आकर्षण समावेश गर्ने जनाएको छ ।
महोत्सव मार्फत लागुऔषधविरुद्ध अभियानदेखि समग्र विकाससम्म सामाजिक सांस्कृतिक विकास र संरक्षणमा वेयलफेयरले महत्वपुर्ण टेवा पुर्याएको राजकुमार खाणको नेतृत्वमा पछिल्लो समय वेलफेयरले महोत्सवबाट संकलित आम्दानी सामाजिक कार्यमा लगाउदै आएको छ । लागुऔषध दुर्व्यसन न्यूनीकरण, सीसी क्यामेरा जडान, सांस्कृतिक संरक्षण, सामुदायिक सहायता लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको वेलफेयर, महोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्न सफल भएको छ ।
इतिहासदेखि वर्तमानसम्मको सफल यात्रा
२०६५ सालमा सुरु भएको कपिलवस्तु महोत्सवको नेतृत्व विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूले गर्दै आएका छन्। पहिलो संयोजक समाजसेवी स्व. शंकरप्रसाद आचार्यदेखि लिएर हालका संयोजक खाँणसम्मको यात्रा जिल्लाबासीको सहभागिता र समर्पणले भरिपूर्ण रहेको छ। खाँण हालसम्म पाँच पटक महोत्सवको नेतृत्व गर्ने एक मात्र व्यक्ति हुन् ।
उनले स्पष्ट पारे– “कपिलवस्तु महोत्सव कुनै संस्थाको होइन, सम्पूर्ण कपिलवस्तुबासीको साझा अभियान हो।” उनले सबै पक्षलाई सहकार्यका लागि आह्वान गर्दै, महोत्सवलाई प्रदेश स्तरको औद्योगिक प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको जनाए।
महोत्सवले कपिलवस्तुको बहुआयामिक विकासमा सहकार्यले टेवा पुग्ने छ ।
महोत्सवमा कृषि, उद्योग, पर्यटन, संस्कृति, भेषभूषा र ऐतिहासिक धरोहरको प्रदर्शन गरिनेछ, जसले जिल्लाको सामाजिक–आर्थिक गतिविधिमा प्रत्यक्ष योगदान दिने आयोजकको विश्वास छ। देश–विदेशमा कपिलवस्तुको नाम चिनाउन महोत्सवले सेतुको काम गर्ने अपेक्षा गरिएको छ।


















