पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायका गाउँ तथा बस्तीमा आज शनिबारदेखिनै ‘अटवारी पर्व’को रमझम सुरु भएको छ ।
श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारका दिन पर्ने यो पर्वका लागि अनदीको चामलको भात र रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत स्थानीय खानाका परिकार बनाउन आवश्यक पर्ने खाद्यान्नको खोजीमा स्थानीय जुटेका हुन् ।
आइतबार थारु समुदायले अटवारी पर्व मनाउने परम्परा रहेकाले शनिबारदेखिनै पूजाआरधना तथा ‘अग्रासन’ कोसेली राख्नका लागि चाहिने दुना, टपरी बनाउनेदेखि घर, आँगन सरसफाइ गर्ने काम गरेका छन् । पर्वमा दर खानाका लागि आज दिनभरि माछा मार्ने र विभिन्न थरीका तरकारी, सरसामानको जोहो गर्ने परम्परा रहेको छ।
दुई दिनसम्म मनाइने यो पर्वमा आइतबारको अघिल्लो दिन अर्थात् आज राति व्रतालुले दर खाने चलन छ । पर्वको पहिलो दिन भोलि व्रतालु पानीसमेत नखाई आधा दिन निरहार व्रत बस्ने गर्दछन् भने मध्याह्नमा नजिकैको नदी, पोखरी वा तलाउमा गएर स्नान गरी पूजाआरधना गर्ने चलन रहेको छ ।
यसरी पूजाआरधाना गरिसकेपछि घरमा तयार गरिएका खानाका परिकार तथा फलफूलबाट एक भाग निकालेर घरका विवाहित छोरीलाई छुट्याएपछि मात्रै व्रतालुले खाने गर्दछन् । यस पर्वका दिन विशेष गरी अनदीको चामलको रोटी, केरा, काँक्रो, अम्बा, सुकेको माछालगायत खानाका साथै फलफूल खाने परम्परा रहेको छ ।
पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै व्रतालुहरूले स्नान गरी पुनः पूजाआरधना गर्दछन् । गुइँठाको आगो बाली ध्यू र सल्लाका साना टुक्रा हालेर पूजा गर्ने परम्परा रहेको छ । धार्मिक नित्यकर्म सकिएपछि अनदीको चामलको भात, रोटी, सुकेको माछा, खरिया, सिद्रा, फुलौरीलगायत खानाका मिठामिठा पकवान खाने गर्दछन् । तयार गरिएका खानाका परिकारमध्ये एक भाग आफ्ना विवाहित छोरीचेटीलाई ‘अग्रासन’ अर्थात् कोसेली दिनका लागि पहिले अलग्गै छुट्याइन्छ । त्यसपछि मात्रै व्रतालुले खाने गर्दछन् ।
यसैबीच लुम्बिनी प्रदेश सरकारले आइतबार तराईका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ। तराईंमा बसोवास रहेको थारू समुदायको अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा बसोवास गर्ने थारू समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउने गरेका छन्।


















